राजन ठटाल

खोटाङ । कृषि पेशा भन्ने बित्तिकै ‘नपढेका र गाउँघरमा बस्ने मान्छेले गर्ने पेशा हो’ भन्ने भाष्य नेपाली समाजमा केही समय अगाडिसम्म थियो । तर, त्यो भाष्य क्रमशः रुपान्तरण हुँदै गएको छ । कृषि पेशा भन्ने बित्तिकै नाक खुम्च्याउने युवा पङ्क्ती अहिले कृषि पेशाप्रति विस्तारै आकर्षित हुन थालेका छन् । कृषि कर्म गरेर गाउँमै मनग्ये ‘आम्दानी र नाम कमाउन सकिन्छ’ भन्ने उदाहरण बनेका छन् खोटाङका गंगाबहादुर विश्वकर्मा, इन्द्रकुमार राई, शुभचन्द्र राई र किशोर राई ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३९ वर्षका विश्वकर्मा जिल्लाकै एक अगुवा कृषक हुन् । वि.सं. २०६० सालमा एसएलसी दिएका विश्वकर्मा रोजगारीका लागि भारतको दिल्लीमा पुगेका थिए । एक वर्ष दिल्लीमा काम गरे । थोरै पैसा कमाउन धैरै दुःख गर्नुपर्ने र पैसा पनि बचत नहुने भएकाले गाउँमै ‘केहि गर्छु’ भनेर २०६१ मा गाउँ फर्किए । त्यो बेला दिक्तेलमा मदन राई र सूर्य राईले व्यवसायिक कृषि खेती गरिरहेको देखे । उनीहरुबाट नै प्रेरित भएर आफूले सोल्मा कृषि कर्म सुरु गरेको बताउँछन् विश्वकर्मा । अहिले विश्वकर्माको आफ्नै ‘खोटाङ कृषि फर्म’ छ । उनले आफ्नो फर्ममार्फत व्यवसायिक च्याउ, टमाटर र अकबरे खुर्सानी लगाएका छन् । आधुनिक तरिकाले कृषि कर्म गर्दै आएका श्विकर्माले सबै खर्च कटाएर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गरिरहेको बताउँछन् ।

विश्वकर्माको कृषि फर्म पछिल्लो समय नगरकै उदाहरणीय कृषि फर्म बनेको छ । गाउँमै केही गर्ने ध्ययले थालिएको कृषि फर्मलाई प्रवद्र्धनका लागि कोशी प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको रु ३२ लाख बजेट कोशेढुङ्गा सावित भएको उनको अनुभव छ । आफ्नो मेहेनेत अनुसारको आम्दानीबाट विश्वकर्मा सन्तुष्ट छन् । कृषि पेशामा आवद्ध हुने र कृषिमा भविष्य देख्ने युवाका लागि विश्वकर्मा सफल कृषक र उदाहरणीय पात्र बनेका छन् ।

यस्तै, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका इन्द्रकुमार राई ‘इन्द्र नाराथुङ्गे’ रोजगारीका लागि २०६१ सालमा मलेसिया पुगे । मलेसियामा चार वर्ष काम गरे । “अर्काको देशमा पसिना बगाएर केही हुँदैन रहेछ ! अब आफ्नै देशमा गएर केही गर्छु” भनेर २०७० गाउँ फर्किए । केही समय ‘के व्यवसाय गर्ने’ भनेर अन्यौलमा परे । धेरै समयपछि राईको मनमा कृषि पेशा गर्ने सपना जाग्यो । त्यसपछि कृषि फर्म दर्ता गरेर कागती, अलैँची, खुर्सानी लगाए । करिब ७० रोपनी क्षेत्रफलमा कृषि खेती गरेका राईले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने बताएका छन् ।

राईले फर्ममा कफी, सुन्तला, अलैँची, बन्दाकोभी, अकबरे खोर्सानीको बिरुवा पनि उत्पादन गर्दै आएका छन् । राईको कृषि कर्म देखेर कृषि ज्ञान केन्द्र खोटाङले नर्सरी घर निर्माणका लागि रु सात लाख अनुदान उपलब्ध गराएको छ । स्थानीय तहले दिने सेवा सुविधाका साथमा प्रदेश सरकारले उपलब्ध गराएको सहयोग र प्रोत्साहन हाम्रो लागि गाउँमा सिंहदरवार भित्रिएको महशुस भएको राईले बताएका छन् ।

किबी खेती गर्ने जिल्लाकै अगुवा कृषक हुन् ५८ वर्षीय शुभचन्द्र राई । २०७१ सालदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबी खेती सुरु गरेका हुन् ३० रोपनी क्षेत्रफलमा राईले किबी खेती विस्तार गरेका छन् । अहिले राईको कृषि फर्मबाट वार्षिक दश हजार केजी किबी उत्पादन हुन्छ । राईले कृषि फर्ममा किबीबाट जुस, जाम, वाइन आदि उत्पादन गर्नुहुन्छ । जुस, जाम, वाइन जिल्लाभित्र र बाहिर आयोजना हुने मेला महोत्सव तथा प्रदर्शनीमा लगेर बिक्री गर्दै आएको राई बताउँछन् । किबी खेतीबाट राईले वार्षिक रु नौँ लाख आम्दानी गर्दै आएको राई सुनाएका छन् । राई आफ्नो मेहेनत अनुसारको आम्दानीबाट सन्तुष्ट छन् ।

त्यस्तै, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ५८ वर्षीय किशोर राईको दैनिकी खेतबारीमा बित्छ । राईले २०७१ सालदेखि कृषि पेशा सुरु गरेका हुन् । १२० रोपनी क्षेत्रफलमा किबी र विभिन्न तरकारी खेती लगाएका छन् । कृषि कर्मबाट वार्षिक रु दश लाख आम्दानी हुने गरेको राईले बताउनुभएको छ । राईको कृषि कर्मलाई देखेर कृषि ज्ञान केन्द्र खोटाङले रु छ लाख अनुदान उपलब्ध गराएको थियो ।

देशमा रोजगारी छैन र केही गर्न सकिँदैन भनेर हजारौँका सङ्ख्यामा वैदेशिक रोजगारी जाने युवाको भिडमा खोटाङका गंगा, इन्द्रकुमार, शुभचन्द्र र किशोर कृषि कर्म गरेर गाउँमै मनग्ये ‘आम्दानी र नाम कमाउन सकिन्छ’ भन्ने उदाहरण बनेका छन् । उनीहरुलाई व्यवसायिक कृषक बन्न स्थानीय सरकार र प्रदेश सरकारले ठूलो सहगोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय