
असार १४,खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले बिरामीलाई फलफूल वितरण गरेर मदन भण्डारी ७४ औं जन्मजयन्ती मनाएको छ ।
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिवार बिहान जिल्ला अस्पताल दिक्तेलमा उपचाररत १६ जना बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेर भण्डारीको जन्मजयन्ती मनाइएको नेकपा(एमाले)जिल्ला कमिटी खोटाङका अध्यक्ष देवबिक्रम राईले बताउनुभएको छ । जिल्लाका दशवटै पालिकामा विभिन्न रचनात्मक कार्यक्रम गरि भण्डारीको ७४ औं जन्मजयन्ती मनाइएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

फलफूल वितरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका निवर्तमान नगर प्रमुख दिपनारयण रिजाल, नेकपा (एमाले)जिल्ला कमिटीका सचिवालयहरु सदस्य समरबहादुर भूजेल,सनमान खड्का, नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका अध्यक्ष गोपालचन्द्र आचार्य,नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष रामप्रसाद आचार्य,नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहाल ,नेपाल निजामती कर्मचारी संगठन खोटाङका निवर्तमान अध्यक्ष रेखा राई लगायतको उपस्थिती रहेको थियो ।
वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् ।
उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । मदन भण्डारीको विचार र सिद्धान्तलाई एमालेले मात्र नभएर अरु पार्टीहरुले समेत प्रशंसा गर्दै आएका छन् ।