
असार १३,खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका २२३ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ६१५ जना बालबालिकाले १४ प्रकारका रोगविरुद्धको नियमति खोप लगाएको सुनिश्चित भएपछि शुक्रबार केपिलासगढीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका प्रमुख समीर राईलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाले खोप कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने विभिन्न निकाय र व्यक्तिहरूलाई सम्मान गरेको छ । वडा कार्यालयहरू, सम्पूर्ण स्वास्थ्य चौकी, स्वास्थ्य खोप कार्यकर्ता र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।
गाउँपालिका प्रमुख राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, गाउँपालिका उपप्रमुख गुरुराज राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको उपस्थिति थियो ।
१० स्थानीय तह रहेको जिल्लामा यसअघि आठवटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको छ । केपिलासगढीलाई शुक्रबार घोषणा गरिएसँगै दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुनेका सङ्ख्या नौँ पुगेको छ ।
अब हलेसी तुवाचुङ नगरपालिकामात्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्न बाँकी रहेको जनाइएको छ ।हलेसी तुवाचुङ नगरपालिकालाई यही असार–२१ गतेभित्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेर २२ गते जिल्ला घोषणा गर्ने तयारी गरिएको खोप समन्वय समितिका संयोजक राईले जानकारी दिनुभएको छ ।
नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । खोप कार्यक्रमबाट कोही बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।