
खोटाङ, १९ जेठ । सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाउनुभएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उहाँको प्रतिमा निर्माण गरिएको छ । २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण गरिएको हो ।
महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउनेक्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा ज्यान गुमाउनुभएका तीनजनामध्ये पूर्वप्रमुख पौड्यालको अर्धकदको प्रतिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको प्राङ्गणमा निर्माण गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु पाँच लाख अनुदानमा निर्माण गरिएको पूर्वप्रमुख इन्जिनियर पौड्यालको प्रतिमा उहाँको दोस्रो स्मृति दिवसको अवसर पारेर जेठ–१९ गते नगरप्रमुख तीर्थराज भट्टराईले अनावरण गर्नुभएको हो । अनावरणपछि नगरप्रमुख भट्टराई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, मृतक पौड्यालकी आमा बिष्णुकुमारी पौडेल, श्रीमती भूमिका पोखेरेल, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, शिक्षक, विद्यार्थी लगायतले प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको दोस्रो स्मृति दिवसमा महुरेगढी प्राविधिक शिक्षालयको कार्यालय परिसरमा विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षरोपणसमेत गरिएको छ । प्रतिमा अनावरण तथा वृक्षरोपण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले पूर्वप्रमुख इन्जिनियर पौड्यालको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
पूर्वप्रमुख पौड्यालको दोस्रो स्मृति दिवसकै अवसर पारेर स्थानीय सुरेश राईको संयोजकत्वमा नौँ सदस्यीय ‘भानु पौड्याल स्मृति अक्षयकोष विधान मस्यौदा समिति’समेत गठन गरिएको छ । प्राविधिक शिक्षालयमा अध्ययन गर्ने छात्रछात्राका लागि पुरस्कृत गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा मृतकका परिवारको तर्फबाट मूलधनको रुपमा रु ५० हजार उपलब्ध गराएको जनाइएको छ ।
पुलचोक क्याम्पसबाट इलेक्ट्रिक इन्जिनियर उत्तिर्ण गर्नुभएका पूर्वप्रमुख पौड्यालले महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा २०७५ भदौ–६ गतेदेखि २०७८ साउन–१३ गतेसम्म प्राचार्यको भूमिका निर्वाह गर्नुभएको थियो । महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको पठन–पाठन पूर्वप्रमुख पौड्यालकै नेतृत्वमा शुरु गरिएको हो ।
ईलामको फाकफोकथुम–४ फूएतप्पामा वि.सं. २०४७ असार–२३ गते जन्मनुभएका पूर्वप्रमुख इन्जिनियर पौड्याल विवाह गरेको वर्ष दिनपछि दुर्घटनामा पर्नुभएको जनाइएको छ । पूर्वप्रमुख पौड्यालको गाडी दुर्घटनामापरी भएको दुःखद् निधनले बहुरेगढी प्राविधिक शिक्षालयलाई ठूलो क्षति पुगेको सञ्चालक समितिले जनाएको छ । तीनजनाको ज्यान जानेगरी भएको गाडी दुर्घटनामा परेका चालक भने सुनकोशी नदीबाट पौडिएर ज्यान बचाउन सफल भएका थिए ।
आङ्गिक क्याम्पसको रुपमा नुनथलामा स्थापना गरेर सञ्चालन गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयका लागि नुनथलाका स्थानीय ११ जना दाताले करोडौँ मूल्य पर्ने ६८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खोटाङमा महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय स्थापना गरिएको हो ।
वन प्राविधिक, कृषि तथा पशु भेटेनरी, अनमी तथा अहेव, ओभरसियर, प्लम्बर, मेसन लगायत विभिन्न विषयमा पठन–पाठन हुँदै आएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा आगामी वर्षदेखि थप विषय अध्ययन÷अध्यापन गराउनेगरी तयारी गरिएको सञ्चालक समितिले जनाएको छ