खोटाङ, १५ जेठ । खोटाङको श्री भगवती दिनानाथ माविको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित विद्यालयको साँढे ४ करोडको लगानीमा निर्माण गरिएको १५ कोठे तीन तले भवनको बिहिवार उद्घाटन गरिएको हो ।

नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत चार वर्ष लगाएर निर्माण गरिएको भवन ७७ औं स्थापना दिवस तथा ७६ औं वार्षिक उत्सवको अवसरमा संविधानसभा सदस्य एवम् नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य बिशाल भट्टराईले उद्घाटन गर्नुभएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७६÷०७७ देखि क्रमागत योजनाको रुपमा शौचालय सहितको सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । प्रशासनीक भवनसँगै दुई तले सात कोठे छात्रावास निर्माण कार्यको काम पनि अन्तिम चरणमा पुगेको भगवती दिनानाथ माविका प्रधानाध्यपक कुमार पराजुलीले बताउनुभएको छ । भवन निर्माणका लागि मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा रु १ करोड ५० लाख, आर्थिक वर्ष २०७७÷०७८ मा रु १ करोड, आर्थिक वर्ष २०७८÷०७९ मा रु १ करोड र आर्थिक वर्ष २०८०÷८१ मा रु १ करोड उपलव्ध गराएको पराजुलीले जानकारी दिनुभएको छ ।

विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगीता गरिएको छ । पालिका स्तरिय नृत्य प्रतियोगीतामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोश्रो र बिणा मावि लिकुवापोखरीले तेश्रो स्थान प्राप्त गरेको छ । यस्तै, आधारभुत तह स्तरिय हाजिरीजवाफमा सिद्ध आधारभुत विद्यालय प्रथम, भगवती दिनानाथ मावि दोश्रो र कृष्ण मावि बर्रे तेश्रो भएका छन् । नृत्यतर्फ प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः रु ९ हजार, ७ हजार २ सय र ६ हजार प्रदान गरिएको छ । हाजिरीजवाफमा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई क्रमशः रु ३ हजार, १ हजार ८ सय र १ हजार २ सय प्रदान गरिएको छ ।

कार्यक्रममा प्रधानाध्यपक पराजुलीले विद्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो आर्थिक वर्षमा रु ४ करोड ५ लाख १० हजार आय र ३ करोड ८९ लाख ९८ हजार व्याय भएको प्रतिवेदनमा उल्लेख छ । आय व्याय अनुसार विद्यालयसँग १५ लाख ११ हजार मौज्दात रकम रहेको प्रधानाध्यपक पराजुलीले बताउनुभएको छ । त्यसमध्ये रु १३ लाख ८८ हजार बैंकमा र १ लाख २३ हजार प्रधानाध्यपकको जिम्मामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम विव्यास अध्यक्ष अमरबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।बिक्रम संवत २००६ साल जेठ १५ गते स्थापना गरिएको विद्यालयमा हाल साँढे पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय