
जेठ १४,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई १३ वटा रोगविरुद्धको खोप नगरपालिकाका सबै बालबालिका लगाइ सकेपछि बुधबार नगरपालिकालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।
नगरपालिकाभित्रका ४९८ बालबालिकालाई सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप लगाइ सकेपछि पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमको जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश कुमार तामाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्नुभएको हो ।
१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई २०७४ जेठ–१४ गते पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको थियो । नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेपछि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्नेगरी ४५ वटा खोप केन्द्रमार्फत बालबालिकालाई नियमित खोप उपलब्ध गराउने गरिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गरेको पाठेघरको क्यान्सर बिरुद्धको एच.पि.भि.खोप अभियान अन्तरगत कक्षा ६ देखि १० सम्मका २३१० जना विद्यार्थी र विद्यालय वाहिर रहेका १० देखि १४ बर्ष सम्मका ७ किशोरीलाई पाठेघरको क्यान्सर बिरुद्धको एच.पि.भि.खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभएको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत खोटाङ जिल्लालाई जेठ मसान्त भित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले बताउनुभएको छ । रावाबेंसी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ । अन्य स्थानीय तहले समेत आ–आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी गरि रहेको जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ ।
वि.सं. २०७४ पुस–१४ गते खोटाङलाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिका सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।