
खोटाङ, ४ जेठ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको यो सडक कालोपत्रका लागि आइतबार मन्त्री दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको काम शुभारम्भ गर्नुभएको हो ।
दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ ।दिव्यज्योति कन्ट्रक्सन प्रा.लि.ले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी वि.सं. २०८१ चैत–१७ गते तथा रायमाझी कन्ट्रक्सन प्रा.लि.ले रु ४४ करोड लागतमा चार वर्षभित्र सम्पन्न गर्नेगरी वि.सं. २०८१ माघ–२ गते सम्झौता गरेको कार्यालयले जनाएको छ ।
फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम जिम्मेवार भएर समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । तपाईहरुले यो सडक कालोपत्रको काम समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन । मन्त्री राईले भन्नुभयो, कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ । गत असोज–१२ गते आएको बाढीले बगाएको फोक्सिङटारको पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेड सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनः निर्माणको काम सम्पन्न हुने बताउनुभएको छ ।
सडक कालोपत्रको काम शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, सडक विभागका महानिर्देशक तथा आयोजना कार्यालयका प्रमुखहरु, खोटाङस्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सडक स्तरोन्नति तथा कालोपत्र शुभारम्भ कार्यक्रमका वक्ताहरुले कालोपत्रको कामलाई गुणस्तरीय बनाउन तथा छिटो सम्पन्न गराउनेतर्फ मन्त्रालयको ध्यानाकार्षण गराउनुभएको थियो ।
महुरे–फोक्सिङटार सडक यसअघि पनि कालोपत्रको काम शुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा कालोपत्रको काम सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौतागरी पुनः कालोपत्रको काम शुरु गरेको हो । चार वर्षभित्र सम्पन्न गर्नेगरी दुई भागमा विभाजन गरेर वि. सं २०७३ असार–३० गतेबाट कालोपत्र थालिएको सडक अहिले अलपत्र अवस्थामा छ । शिलान्यास गरेको ३१ वर्षमा पनि महुरे–फोक्सिङटार सडक कालोपत्र नहुँदा दिउँदको समयमा करिब छ महिनामात्र यातायात सञ्चालन हुँदै आएको छ ।