माघ १४,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल प्रथम भएको छ । नगरपालिका भित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदक सहित दिक्तेल बोर्डिङ स्कूल दिक्तेल प्रथम भएको हो ।

दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलले दश स्वर्ण, दश रजत र ११ कास्य पदक सहित द्धितीय भएको छ । चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदक सहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय तथा पाँच स्वर्ण, चार रजत र दुई कास्य पदक सहित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको हो ।

भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलले तीन स्वर्ण, एक रजत र सात कास्य पदक सहित पाँचौँ स्थान हाँसिल गरेको छ । नगरपालिकाको आयोजना तथा जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माको सह– आयोजनामा सञ्चालित प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा ६३२ जना विद्यार्थीले सहभागिता जनाएको सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले बताउनुभएको छ ।

प्रतियोगिताको उपाधि जित्न सफल विद्यालयलाई नगद रु २१ हजार १११ को साथमा रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । प्रतियोगिताका उपविजेता तथा विद्यागत प्रतियोगिताका विजयी विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उपाधि विजेता विद्यालय तथा खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कार प्रदान गर्नुभएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन यही माघ–११ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले ब्यानरसहितको बेलुन उडाएर गर्नुभएको थियो ।

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु दश लाख उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।प्रतियोगितामा सहभागी सबै विद्यालयलाई खेल सामग्री तथा यातायात भाडा बापतको रकम उपलब्ध गराइएको आयोजकले जनाएको छ ।अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।

नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहले धमाधम पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । दिक्तेल बजारमा सञ्चालन हुने नवौँ जिल्लास्तरीय प्रतियोगिताको मिति भने, अहिलेसम्म टुङ्गो लागेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर