खोटाङ। हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको संयोजनमा आयोजित प्रतियोगितामा विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

हलेसी तुवाचङ नगरपालिका–१० अर्खौलेस्थित सालपा खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिकरुपमा गर्नुभएको छ । नगरप्रमुख विमला राईको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रमेश राउत, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुदकर्मी, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको छ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा सामुदायिक र एउटा संस्थागतगरी १३ वटा माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी छन् । प्रतियोगिताका उपाधि विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता र तृतीय स्थान हाँसिल गर्ने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु सात लाख बजेट उपलब्ध गराएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यार्थी, खेल शिक्षक र व्यवस्थापकका लागि खाना, खाजा, वास र यातायात भाडाको व्यवस्था आयोजकले मिलाएको जनाइएको छ ।

नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका साथै खेल क्षेत्रको विकासमा समेत नगरपालिकाले लगानी गरिरहेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “भौतिक विकासले मात्र समृद्ध नगर सम्भव छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर सुधार गर्न नगरपालिका एक्लैले सम्भव हुँदैन । सबै क्षेत्रको उत्तिकै सहभागिता आवश्यक छ । आगामी दिनमा नतिजा देखिनेगरी काम गर्न सबैसँग आग्रह गरिरहेका छौँ ।”

पाँच वर्षअघिबाट शुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत अघिल्लो संस्करको दुईवटा प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रममा साबिक विजेता पिपलडाँडा देविस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक खम्बराज राईले कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख राईमार्फत नगरप्रमुख राईलाई शिल्ड हस्तान्तरण गरेको छ ।

प्रतियोगिताको पहिलो दिन एक हजार ५०० मिटर दौड अन्तरगत छात्रातर्फ कालिका मावि बाहुनीडाँडाकी निशाना राई प्रथम, सोही विद्यालयकी ममता राई द्धितीय र ज्योति मावि राजापानीकी उर्मिला मगर तृतीय भएका छन् । छात्रतर्फ बुलापन्थे मावि धितुङका डिलिन्द्र राई प्रथम, मालिकादेवी मावि बाहुनीडाँडाका सविन राई द्धितीय र च्यास्मिटार मावि च्यास्मिटारका सुशिल राई तृतीय भएका छन् ।

एथ्लेटिक्सतर्फकै २०० मिटर दौड अन्तरगत छात्रतर्फ हलेश्वर बोर्डिङ स्कूल हलेसीका प्रतिरोध राई प्रथम, महेन्द्रोद्धय मावि हलेसीका नरेश राई द्धितीय र लक्ष्मी मावि बडहरेका नवराज नेपाली तृतीय भएका छन् । छात्रातर्फ पिपलडाँडा देविस्थान मावि मङ्गलटारकी पवित्रा राउत प्रथम, दुर्छिम मावि दुर्छिमका मनिशा राउत द्धितीय र पिपलडाँडा देविस्थान माविकै सोभा बस्नेत तृतीय भएका छन् ।

सटफुट ९छेलो० अन्तरगतको प्रतियोगितामा छात्रतर्फ च्यास्मिटार मावि च्यास्मिटारका युवरा विश्वकर्मा प्रथम, पिपलडाँडा देविस्थान माविका भावत थापा द्धितीय र दाम्ली मावि डिकुवाका जितेन्द्र राई तृतीय भएका छन् । छात्रातर्फ दुर्छिम मावि दुर्छिमकी मनिशा राउत प्रथम, पिपलडाँडा देविस्थान माविकी इन्दिरा थापा द्धितीय र सरस्वती मावि अर्खौलेकी निश्चल श्रेष्ठ तृतीय भएका छन् ।

छात्रछात्रा भलिबल र कबड्डी प्रतियोगिताको भने छनोट खेलमा शुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा नेवार समुदायले लाखे नाच तथा महिला शिक्षकहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर