झापा ।  दलित तथा अल्पसङ्ख्यक समुदायका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सतासीधाम जेसीजले यो वर्षको जेसीज सप्ताह कार्यक्रम उद्घाटन गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का दुई वटा सामुदायिक विद्यालयका ३ जना छात्र छात्राको अभिभावकत्व ग्रहण गर्दै जेसीज सप्ताहको उद्घाटनसँगै सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गर्दै सुरु भएको हो । आइतबार विद्यालय हाता मै पुगेर सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ का पल्टन मुर्मु र कक्षा ४ की सीता मुर्मुको वर्ष २०२१÷०२२को शैक्षिक सत्रको अभिभावकत्व सतासीधाम जेसीजले ग्रहण गरेको हो ।
पाठ्यपुस्तक, कपी, पेन्सिल र उनीहरूका नामबाट विद्यालयमा जम्मा हुने वार्षिक सहयोग शुल्क समेत सतासीधाम जेसीजले भुक्तानी गरेको जेसीजका अध्यक्ष कमल सेन्चुरीले बताए । यस्तै सोही वडाको झिलझिले माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत खेमराज भित्री कोटीको पनि सतासीधाम जेसीजले अभिभावकत्व ग्रहण गरेको छ ।
उनलाई पनि विद्यालय पोसाक, पाठ्यपुस्तक, कपी, बलपेन् लगायतका अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरेको सतासीधाम जेसीजले जनाएको छ । सरस्वती प्राथमिक विद्यालय परिसरमा आयोजित एक भव्य समारोहकाबीच शिवसताक्षी नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष केहरशिंह बस्नेत, वर्ष २०२१ का सतासीधाम जेसीज अध्यक्ष कमल सेन्चुरी, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्की लगायतका अतिथिले विद्यार्थीलाई शैक्षिक सामग्री र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीबाट भुक्तानी हुने सहयोग शुल्क प्रदान गरेका थिए ।
कार्यक्रममा निर्मला प्रधानले जेसीज आस्था वाचन, विवेक ढकालले जेसीजको मिसन भिजन र २०२० का अध्यक्ष कुमारसिंह सावाँले जेसी सप्ताह औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा जेसी दारुमान राईले सतासीधाम जेसीज स्थापना भए यता हालसम्म गरिएका गतिविधिको बारेमा प्रस्ट पारेका थिए ।
झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज निरौला, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्कीले सतासीधाम जेसीजले गरेको कामको खुलेर प्रशंसा समेत गरेका थिए । उनीहरूले भने, ‘विपन्न परिवारका विद्यार्थीका लागि सतासीधाम जेसीज सारथि संस्था बनेको समाज रूपान्तरणको अभियानमा सक्रिय जेसीज विश्वमा अब्बल संस्थाको रुपमा रहेको हामीले विश्वास गरेका छौ ।’ कार्यक्रमको सञ्चालन महासचिव अर्जुन भट्टराईले गरेका थिए ।
सतासीधाम जेसीजले ७ गते नगरको माईधारमा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना, ८ गते धरमपुरमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना ९ गते सतासीधाम जेसीजको कवर्ड हल दूधे मा प्रतियोगितात्मक ब्याडमिन्टन,१० गते शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को जनआदर्श माध्यमिक विद्यालयमा अन्तर सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता र ११ गते दुधेको सिकाइ केन्द्रमा घर शिक्षा सम्बन्धी कार्यक्रम तथा जेसीज सप्ताह समापन कार्यक्रम हुने सतासीधाम जेसीजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर