हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ ।

बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ ।

बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा सामान्य बद्ली भइ हल्का वर्षाको सम्भावना छ । यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुनेछ । यस्तै न्यूनतम तापक्रम घट्न थालेपछि देशभर चिसो बढेर गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ ।

हिजो यतिबेला काठमाण्डौको तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज ८ डिग्री सेल्सियस मापन गरिएको छ । आकाश खुलेसँगै न्यूनतम तापक्रम घट्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर