बिर्तामोड । नेकपा एमालेको आसन्न निर्वाचनका लागि झापाबाट १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा– ५ बाट १० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

झापा– ५ संसदीय क्षेत्रबाट दमका मेयर रोमनाथ ओली, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेसहित होमबहादुर थापा, अम्बिका खनाल, दीपक कार्की, मदन अधिकारी, नारायण गौतम, सर्वतलाल राजवंशी, लीला कट्टेल र विष्णु खड्का चयन भएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । झापा– ५ अध्यक्ष ओलीको निर्वाचन क्षेत्र पनि हो ।

यसैगरी दलित आरक्षणमा झापाबाट सोमनाथ पोर्तेल, छविलाल विश्वकर्मा र जसमाया गजमेर सर्वसम्मत चयन भएका छन् । जसमाया गजमेर पूर्व राज्यमन्त्री हुन् ।

झापाबाट ४७ जनाले महाधिवेशन प्रतिनिधि बन्न पाउने छन् । सर्वसम्मत भएको बाहेकका प्रतिनिधि चयन गर्न शनिवार जिल्लाभर निर्वाचनको तयारी गरिएको एमाले झापाका सचिवालय सदस्य देवराज कार्कीले जानकारी दिए । उनका अनुसार शुक्रवार रातभर सर्वसम्मतको प्रयास हुनेछ । सर्वसम्मत नभएमा मात्रै निर्वाचन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर