झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको निर्वाचन आगामी मंसीर ३ गते हुँदैछ । त्यस्तै संघीय निर्वाचन क्षेत्रको मंसीर ६ गते, जिल्लाको मंसीर १० र प्रदेशको निर्वाचन आगामी मंसीर १६÷१७ गते हुँदैछ । यसअघि सम्पन्न वडा र पालिकाको अधिवेशनबाट पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

१५ पालिका र १३१ वडा रहेको झापामा यस अघि भएको अधिवेशनबाट तीन हजार तीन सय ४७ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । यो संख्या वडा र पालिका सभापतिसहितको हो । उनीहरुले नै जिल्लाको नेतृत्व चयनका लागि मतदान गर्ने नेपाली कांग्रेसको विधानमा उल्लेख छ । झापाका ८ नगरसहित १५ वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सकिएपछि प्रदेश क्षेत्रीय, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनको मिति नजिकिएसंगै पार्टीभित्रै चुनावी सरगर्मी बढेको छ ।

अझ जिल्लाको नेतृत्व चयनका लागि पार्टीभित्रै दुई उम्मेदवार र उनीहरुलाई समर्थन गर्ने नेताहरुमा नै रस्साकस्सी देखिएको छ । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको गुटबाट जिल्ला सभापतिमा दुई जनाले दाबी गरिरहेका छन् । सिटौलाको गुटबाट कनकाई नगरपालिका निवासी देउकुमार थेवे र मेचीनगरका रामप्रसाद कट्टेललाई शर्माको समर्थन रहेकाले उनीहरु दुवैले सभापति पदमा दावी गरिरहेका हुन् ।

निर्वाचनको पछिल्लो मतपरिणामले सभापति पदका दुई उम्मेदवारमध्ये को बलियो छ ? भन्दै धेरैले फरक– फरक अड्कलबाजी गरे पनि केहीले झापामा ६० ÷४० को अवस्था रहेको विश्लेषण गर्दै आएका छन् । यसअघि सम्पन्न अधिवेशनमा कचनकवल, बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । सहमति जुटेका चार स्थानीय तहमध्ये बुद्धशान्तिका सभापति चक्र शेर्मा विश्वप्रकाश निकट हुन् । कचनकवलमा भने सिटौला निकट तुलाराम अधिकारी सभापतिमा निर्वाचित छन् । झापा गाउँपालिकामा भने केशव बुढाथोकी निकट सागिरथ गणेश सभापतिमा निर्वाचित भएका छन् । हल्दिबारीमा गंगा प्रसाईं सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

बिर्तामोड नगरपालिकामा भोजराज सिटौलाको प्यानलले जीत हासिल गर्यो । भोजराज कृष्ण सिटौलाका भतिजा हुन् । बिर्तामोड नगरमा भोजराजको प्यानल आएसँगै झापामा कृष्ण सिटौला हाबी भएको भनिए पनि विश्वप्रकाशको प्रभाव पनि उत्तिकै छ । अधिकांश नयाँ अनुहारहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित छन् । तथापि सिटौला निकटका सभापतिहरु धेरै छन् ।

को कोसँग निकट ?

नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गाउँ र नगरको अधिवेशनबाट निर्वाचित झापाका १५ स्थानीय तहका सभापतिहरु चार खेमामा विभाजित देखिएका छन् । कांग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा देखिएको छ ।

झापामा सिटौलाको प्यानल अगाडि देखिएको छ । सिटौला प्यानलबाट अर्जुनधारा सभापतिमा हेमराज खरेल, बिर्तामोडबाट भोजराज सिटौला, हल्दिवारी बाट गंगाप्रसाद प्रसाई, वाह्रदशीबाट इन्द्र बस्नेत, भद्रपुरबाट रामबहादुर कँडेल, कचनकवलबाट तुलाराम अधिकारी र दमकबाट प्रकाश प्रसाई निर्वाचित भएको कांग्रेस निकट श्रोतले जानकारी दिएको छ । त्यस्तै शर्मातर्फ मेचीनगरबाट सुदय पनेरु, बुद्धशान्तिबाट चक्र शेर्मा, कनकाईबाट दुर्गाप्रसाद प्रसाई, शिवसताक्षीबाट अशोक बस्नेत र कमल गाउँपालिकाबाट वुद्धिराज न्यौपाने सभापति पदमा निर्वाचित भएका छन् ।

यस्तै झापा गाउँपालिकामा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशव कुमार वुढाथोकी निकट मानिएका सागीरथ गणेश निर्वाचित भएका छन् भने गौरादहबाट सभापति पदमा निर्वाचित बनेका यादवराज सेढाई शेखर कोइराला निकट रहेको श्रोतको दावी छ । त्यस्तै गौरीगञ्जका अघनुप्रसाद राजवंशी कुनै प्यानलमा देखिएका छैनन् । महाधिवेशन अन्तर्गत जिल्ला निर्वाचन नजिकिएसंगै सिटौला र शर्मा प्यानल निकट मानिने थेवे र कट्टेल आफैंलाई सभापतिको उम्मेदवार दावी गर्दै मतदाताको घरदैलोमा छन् ।

राम कट्टेललाई जिताउन अपिल

नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा राम कट्टेललाई जिताउन अपिल गरिएको छ । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै कट्टेल जिताऔं अभियान सचिवालयले ‘स्वच्छ छवि, सवल व्यक्तित्व र सुदृढ संगठन हाम्रो आव्हान’ भन्ने नारा सहित कट्टेललाई जिताउन अपिल गरेको हो ।

सचिवालय संयोजक पुष्पराज पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कट्टेललाई साझा उम्मेदवारको रुपमा सभापति पदका लागि उम्मेदवार बनाएको र उनैलाई जिताउन अपिल गरिएको हो । नेपाली कांग्रेस झापामा सामुहिक नेतृत्व, समान अवसर, तथा गतिशील संगठनको निर्माण गर्न सवल नेतृत्व, क्षमता र स्वच्छ छवि भएको नेतृत्वको आवश्यकता महशुस गरी कट्टेललाई साझा उम्मेदवार बनाएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

विगत केही समय अघिदेखि १३औं महाधिवेशनमा नै १४औं महाधिवेशनका लागि जिल्ला सभापतिमा देउकुमार थेवेको नाममा सहमति भई हस्ताक्षर गरेको भन्ने गलत हल्ला चलेको र कमजोर मनस्थितिबाट ग्रसित भई विभिन्न सञ्चार माध्यममा भ्रम सृजना गरिएका समाचार आएकाले आफूहरुको ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पार्टीको १३ औं महाधिवेशनमा भएको नौं बुँदे सहमति–पत्र समेत सार्वजनिक गर्दै नभएको सहमतिको विषयमा भ्रम सृजना नगर्न समेत अपिल गरिएको पत्रकार सम्मेलनमा १४औं महाधिवेशन सफल बनाउन सबैमाझ अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर