असोज ११, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले किसानका लागि तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको छ । खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७९र०८० देखि तोरी खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको गाउँपालिकाले ४ लाख ९२ हजार ५३५ रुपैयाँको खर्चमा तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको हो ।
रावाबेँसी गाउँपालिका(१ कुभिण्डे हरम्टारस्थित कटहरे कृषक समुहका सदस्य माधव पाण्डेले सञ्चालनको जिम्मा लिएको मिल बुधबार गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
गाउँपालिकाभित्रका तोरी पेल्ने किसानलाई बजार मुल्यमा प्रतीकेजी पाँच रुपैयाँ छुट दिनेगरी मिल सञ्चालनमा ल्याइएको गाउँपालिकाका कृषि शाखा प्रमुख मुगाधन राईले बताए । किसानले व्यवसायीक रुपमा तोरी र सुर्यमुखी फूल खेती लगाए पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले मिल सञ्चालनमा ल्याएको हो ।
किसानको खेत र बारीमा चक्लाबन्दी तोरी खेती लगाएर तेल उत्पादन गर्दै आयतीत तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले गत वर्ष किसानलाई तोरी र सुर्यमुखी फूलको बिउ बितरण गरेको थियो । तोरी पेलेर तेल निकाल्ने, पेलेर निस्किएको पिनालाई पशु दानाका रुपमा प्रयोग गर्दै पशुपालन प्रवर्द्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि महुरी पालन गर्ने लगायतका बृहत लक्ष्यका साथ तोरी खेती प्रवर्धन कार्यक्रम लागु गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
खाने तेलमा गाउँपालिकाबाट अनुमानित वार्षिक साँढे तीन करोडदेखि चार करोड रकम बाहिरिने तथ्यलाई मध्यनजर गर्दै तोरी खेतीको योजना अघि सारिएको हो । ६ वडा रहेको गाउँपालिकामा तोरी खेतीका लागि १४ क्लष्टर निर्धारण गरिएको छ । खाने तेलमा हुने निर्यात खर्चलाई न्युनीकरण गरी तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका एकैसाथ १२५ हेक्टर ९दुई हजार पाँच सय रोपनी० जग्गामा चक्लाबन्दी तोरी खेती सुरु गरिएको छ ।
बाँझिदै गएको जग्गालाई उपयोगमा ल्याउने र किसानलाई स्वरोजगार बन्न उत्प्रेरित गर्ने योजना सहित चक्लाबन्दी तोरी खेती प्रवर्द्धन कार्यक्रमको अवधारणा ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । रावाबेँसीका अधिकांश ठाउँ तेलहन बाली खेतीका लागि उर्वर मानिन्छ । कतिपय किसानले स्वतःस्फुर्त पनि तोरी खेती लगाउँदैआएको अवस्थामा गाउँपालिकाले चक्लाबन्दी तोरी खेती कार्यक्रम ल्याएको हो ।