काठमाण्डौ – काठमाण्डौको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ । सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने त्यस मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गएकाे वर्ष बन्द गरिएको थियो ।
दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर भिड कम हुने गरी व्यवस्था मिलाइएको काठमाण्डौ महानगरपालिका १२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिनुभयो ।
हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन् । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् ।
दर्शनार्थीको सहजताका लागि भिड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनुका साथै एम्बुलेन्स पनि व्यवस्थापन गरिने छ ।
भिड हुन नदिनका लागि कुनै पनि सङ्घ/संस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मेलाका लागि मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ ।