दमक — झापाको दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको भवन अर्थात रेडक्रस कम्प्लेक्समा भोलि आईतबारदेखी बालबालिकाको उपचार विशेष किओच–दमक बाल अस्पताल सञ्चालनमा आउँदैछ ।
भोलि आईतबारदेखी अस्पतालमा प्रारम्भिक चरणको सेवा प्रारम्भ हुने जनाइएको छ । यसलाई अस्पताल व्यवस्थापन पक्षले सफ्ट लञ्च भनेको छ । बालबालिकाको उपचार सम्बन्धि विशेषज्ञ सेवासहितको प्रादेशिक बाल अस्पतालका रुपमा काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसँगको सहकार्यमा सो अस्पताल सञ्चालन गर्न लागेको हो । सो संस्थाको नेतृत्व नेपालमै ख्याती प्राप्त मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले गर्नुभएको छ ।
इन्स्टिच्युटले ५० बेडको स्वीकृति लिए पनि करिब एक सय बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउन सक्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।
यस्तै, अस्पतालको ओपिडी सेवा सुरु गरेको सन्देश दिन अस्पतालले भोलि देखी तीन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पतालका मेडिकल डाईरेक्टर डा. जयमणी श्रेष्ठले जानकारी दिनुभएको छ ।
शिविरमा प्रा.डा. भगवान कोइराला, प्रा.डा. रत्नमणी गजुरेल, प्रा.डा संगिता बस्नेत, प्रा.डा.देवेन्द्र श्रेष्ठ, डा. जगत घिमिरे, डा. अनिल भण्डारी, डा. सुचारिता तुलाधार, डा.समिर साक्य लगायतको टिम आउने अस्पताल निर्देशक डा नबिन ढकालले जानकारी दिनुभयो ।
दमक रेडक्रसको चार तलाको भवनमा आकस्मिक सेवा, सघन उपचार लगायत बालबालिकाका सबै किसिमका रोगका उपचार गर्ने गरी अस्पताल निर्माण गरिएको रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले बताउनुभयो ।
करिब ७ कट्ठा क्षेत्रफलमा रहेको रेडक्रस सोसाइटी दमक उपशाखाले अस्पताल सञ्चालन गर्न आफ्ना भवनसहितका संरचना ३० बर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराएको छ । अस्पताल सञ्चालनमा आएपछि पूर्व क्षेत्रका बालबालिकाहरु प्रत्यक्ष लाभान्वित हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर