विराटनगर : विराटनगरमा पहिचान पक्षधरको प्रदर्शन नियन्त्रणमा लिने क्रममा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका ३ र सशस्त्रका दुईजना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइते सुरक्षाकर्मीको पूरा विवरण प्राप्त भइसकेको छैन ।
यद्यपि घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनकारीतर्फ कतिजना घाइते भए भन्ने यकिन भइसकेको छैन । विराटनगरमा पहिचान पक्षधरले गरेको प्रदर्शन नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । १५ राउण्ड हवाईफायर गरिएको सुरक्षा स्रोतले बतायो । प्रदेश १ को नाम कोसी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन् ।

कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरले मंगलबार विराटनगरको पाञ्चालीनजिक प्रदर्शन गरेका थिए । बिग होटल आसपासमा प्रदर्शन र हुलदंगा हुन थालेपछि दोहोरो झडप भएको थियो । आन्दोलनकारीले होटलको कफी सपमा तोडफोडसमेत गरेका छन् ।

शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनाउन आन्दोलनकारीले नै भूमिका खेलेको दाबी प्रहरीको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।

आन्दोलनरत पक्षबाट अहिले विराटनगरमा कोणसभा भइरहेको छ । कोणसभालाई पहिचान पक्षधर नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहेको र अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । कोसी नाम खारेज हुनुपर्ने, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने,पहिचानवादी एक हुनुपर्ने लगायतका नारा लगाएर पहिचान पक्षधर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनस्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले दोहोरो झडपको अवस्था उत्पन्न भए पनि स्थिति सुरक्षा नियन्त्रणमै रहेको जानकारी दिए । प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नामकरण गरेर कोसी नाम राखेको थियो । नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा प्रदर्शन भएको थियो । त्यस क्रममा पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भयो ।

आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सार्वजनिक भएको एउटा भिडियोमा पनि लिम्बूको मृत्यु आन्दोलनकारीकै लाट्ठी प्रहारबाट भएको देखिन्छ ।
तर, पहिचानवादी समूहले भने प्रहरीको कुटाइले मृत्यु भएको दाबी गरेर आन्दोलनलाई चर्काउने प्रयास गरिरहेका छन् । सुरुमा भने आन्दोलनकारीले घाइते लिम्बूका बारेमा सार्वजनिक गरेका थिएनन् । चैत ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका लिम्बूको चैत १० गते बिहान मृत्यु भएको थियो ।

कोशी प्रदेश सरकारले उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सोमबार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर