विराटनगर । पहिचान पक्षधरको प्रदर्शनसँगै भएको झडपले विराटनगर तनावग्रस्त बनेको छ ।

प्रदेश १ को नाम कोसी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन् ।

कोसी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरले मंगलबार विराटनगरको पाञ्चालीनजिक प्रदर्शन गरेका थिए ।

त्यस क्रममा प्रहरीसँग झडप भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले प्रहरीमाथि ढुंगामुडा गरेको थियो ।

आन्दोलनकारी सुरक्षाकर्मीमाथि जाइलागेपछि दोहोरो झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले हवाईफायर समेत गरेको बताइएपछि त्यसको आधिकारिक पुष्टि भइसकेको छैन । तर, प्रदर्शनकारीले आन्दोलनलाई जारी राखेका छन् । कोसी नाम खारेज हुनुपर्ने, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने, पहिचानवादी एक हुनुपर्ने लगायतका नारा लगाएर प्रदर्शन गरिरहेका हुन् ।

प्रदर्शनस्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले स्थिति सुरक्षा नियन्त्रणमै रहेको जानकारी दिए । प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नामकरण गरेर कोसी नाम राखेको थियो ।

नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा प्रदर्शन भएको थियो । त्यस क्रममा पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भयो ।

आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, आन्दोलनरत पक्षले भने प्रहरीको कुटाइले मृत्यु भएको दाबी गरेर आन्दोलनलाई चर्काउने प्रयास गरिरहेको छ ।

चैत ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका लिम्बूको चैत १० गते बिहान मृत्यु भएको थियो ।

कोसी प्रदेश सरकारले उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सोमबार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर