विभिन्न जिल्लालगायत भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकलहरुलाई बरामद गर्न जिल्ला प्रहरी कार्यालय इलामले विशेष अभियान सञ्चालन गरिरहेको छ ।
जिल्लाको विभिन्न स्थानहरूमा चेकजाँच गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने र शङ्कास्पद मोटरसाइकलहरुका सम्बन्धमा विशेष अनुसन्धान गर्ने क्रममा विभिन्न स्थानहरूमा कागजपत्र नभएका चोरीका ७ थान मोटरसाइकल बरामद गरी अनुसन्धानमा गरिरहेको प्रहरीले जनाएको छ । सोही अभियानअन्तर्गत केही समय पहिला पनि चोरी गर्दागर्दैको अवस्थामा चोरीका ७ थान मोटरसाइकल र सो कार्यमा संलग्न आरोपितहरू पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गत पुस महिनादेखि हालसम्म जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरी युनिटहरूबाट जम्मा १४ वटा मोटरसाइकल बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले मातहतका सबै प्रहरी इकाईहरूलाई अभियानकै रुपमा यो सरप्राईज चेकप्वाईन्ट खडा गरी कागजपत्र नभएका मोटरसाइकल पक्राउ गर्न निर्देशन दिएको डीएसपी बस्नेतले जानकारी दिए ।