भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज आयोजक भद्रपुर ब्लेजर्स र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक र संकटाबीच आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ ।

आयोजकले जयगाउँ भारतलाई पराजित गरी अन्तिम आठमा प्रवेश गरेको हो । संकटालाई सोजै अन्तिम आठमा पारिएको हो । लिगमा संकटा सातौँ स्थानमा रहेको टोली हो । आज जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डभर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर