बिर्तामोड । झापाबाट हात्तीपाइले रोग निवारण गर्न आम नागरिकले अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने भएको छ । स्वास्थ्य कार्यालय झापाले औषधि सेवन नगरेसम्म रोग निवारण नहुने जनाएको छ ।

झापामा फागुन ११ गतेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने तयारी गरिएको छ । जिल्लाका नौ लाख बढी नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने तयारी गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
औषधि सेवन प्रभावकारी भए मात्रै निवारणको अभियान सफल हुने जनाइएको छ । औषधि सेवन नगरे हात्ती पाइले रोगको संक्रमण हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । हात्तीपाइले संक्रमण भए अंगभंग भइनेछ ।

स्वास्थ्य कार्यालय झापाले सोमवार बिर्तामोड नगरपालिकाको सभाहलमा हात्तीपाइले रोगविरुद्धको अभियानबारे पत्रकारसँग अन्तरिक्रया कार्यक्रमको आयोजना गरी नौ लाख नौ हजार ५७३ जनालाई औषधि सेवन गराउन लागेको जनाएको छ ।

 

जिल्लामा हात्तीपाइले रोगविरुद्धको १२ औं पटकको अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको यस पटक उचाइ नापेर औषधि सेवन गराइने उनले बताए । ‘उचाइका आधारमा तीन वटादेखि नौ वटासम्म औषधि खुवाइने छ’, उनले भने । विद्यालय क्षेत्र, उधोग क्षेत्र र आम नागरिकको घरघर गएर औषधि सेवन गराइने उनको भनाई छ ।

झापामा तीन प्रकारका औषधि सेवन गराइने भएको छ । यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक ‘आइभरभेटिङ’ नामक औषधि थपिएको हो । अघिल्लो पटक लगातार पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्ने भए पनि एक वटा औषधि थप भएपछि दुई वर्ष मात्र सेवन गर्दा हुने कार्यालयका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

झापामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन नौ वटा पालिकाले हात्तीपाइले रोगविरुद्धको औषधि कार्ड स्थानीयबासीलाई दिने भएका छन् । अघिल्लो वर्ष झापा गाउँपालिकाले उक्त कार्ड प्रयोग गरेको थियो ।
संक्रमण भएको लामोसम्म लक्षण नदेखिने भएकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अपेक्षाकृत हुन सकेको छैन । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यले जोडतोडका साथ लागिएको प्रमुख बाराकोटी बताउछन् ।

झापामा दैनिक ज्यालादारी मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, शहरीबासी, उच्च वर्ग र सरकारी कर्मचारीहरुले कम औषधि सेवन गर्ने गरेको पाइएको छ । त्यसैले ती क्षेत्रमा यस पटक औषधि सेवन गराउन प्रयासरत रहेको प्रमुख बाराकोटीले जानकारी दिए ।

हात्तीपाइले रोगविरुद्धको अभियान बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ । नेपालमा यस पटक १५ वटा जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन हुँदैछ । जसमा सरकारले दुई अर्ब लगानी गरेको प्रमुख बाराकोटीले बताएका छन् । झापाका १५ वटा पालिकामा यो अभियान अन्तरगत एक करोड ५० लाख आएको उनले जानकारी दिए ।
गत वर्ष झापामा ८५.९१ प्रतिशतले औषधि सेवन गरेको तथ्यांक रहेको छ । झापामा सन् २००१ मा संक्रमण दर २४ प्रतिशत थियो भने हाल १.४७ प्रतिशतमा झरेको छ । नेपालका ६४ जिल्ला हात्तीपाइले रोगको जोखिमा रहेको छ भने ३० हजार हात्तीपाइले रोगबाट संक्रमित रहेका छन् । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ ।

स्वास्थ्य सेवा विभाग ईपिडिमियमेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइनेछ ।
नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकिएको छ तर बाँकी १४ जिल्लामा औषधि खान योग्य सबैले नखाइदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लाका बासिन्दामा रोगको दर अपेक्षाकृत रूपमा नघटेकाले यी जिल्लामा पटक–पटक औषधि खुवाउनु परेको छ ।
कसले खान हुँदैन ?

यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा यो औषधि खान योग्य सबैले खानुपर्दछ । त्यस्तै दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग को समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र मिर्गौला रोगको लागि डायलिसिस जस्ता जीवन भर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरूलाई बुझ्नुपर्छ ।

‘हात्तीपाइलेको औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । त्यस्तो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दै छ भन्ने बुझ्नुपर्छ । ती लक्षणहरू केही घण्टामा आफैँ हराएर जान्छन् । केही गरी लक्षणहरू लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ,’ श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर