खोटाङ । खोटाङको जनजागृति माध्यमिक विद्यालयले उत्कृष्ट माध्यमिक विद्यालयको रुपमा पुरस्कृत भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित डाँडागाउँमा रहेको विद्यालयले प्रदेश भित्रका सामुदायिक विद्यालयहरु मध्येमा ‘उत्कृष्ट व्यवस्थापन विद्यालय’को रुपमा पुरस्कृत भएको हो ।

१ नं प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रममा जिल्लाबाट मूल्याङकनमा सहभागी भएका विद्यालयहरु मध्ये उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा विद्यालयलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार बिराटनगरस्थित इस्टर्न स्टार होटलमा आयोजित कार्यक्रममा विद्यालयलाई १४ लाख ५० हजार नगदका साथै ट्रफी र सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई र सामाजिक विकास मन्त्री राजन राईले विद्यालयका प्रवन्ध निर्देशक सुर्य राई र प्रधानाध्यापक सविता ढकाललाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

शुभद्रा–मदन फाउण्डेसनको सहयोगमा २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानको रुपमा जीवन उपयोगी शिक्षा सञ्चालन गर्दै आएको पूर्ण आवासीय विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विद्यार्थीहरु पूर्ण आवासीय रुपमा बसेर सैद्धान्तिक र प्रयोगात्मक अध्ययन÷अनुसन्धान गरिरहेका छन् ।

ब्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षा अन्तर्गत १२ सय रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा गाई, भैंसी, बंगुर,बाख्रा, कुखुरा, परेवा, माछा, घोडा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन÷खान, भाडाकुंडा माझ्न, गाडी, कम्प्युटर बनाउन÷चलाउन, कपडा सिलाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्ने लगायतका शिक्षा दिंईदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर