असोज ९,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किबी, स्याउ, नास्पाती, आल्चा लगायतका फलफूललाई प्रशोधन गरेर पेय पदार्थ (जुस) उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले निर्माण शुरु गरिएको प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।

बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ (जुसजन्यवस्तु)लाई विस्थापित गर्दै पुँजी पलायन हुनबाट रोक्ने उद्देश्यले फलफूल प्रशोधन केन्द्र निर्माणको काम शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो ।कृषकले उत्पादन गरेका किबी, स्याउ, नास्पाती, आल्चा लगायतका फलफूल उपयोग विहीन भएका छन् । खेर गइरहेका फलफूललाई प्रशोधन गर्दै बजारीकरण गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाका साथ फलफूल प्रशोधन केन्द्रको निर्माण गरिएको उपप्रमुख राईले जानकारी दिनुभएको छ ।

वि.सं. २०८० माघ–१२ गते सम्झौता गरेर निर्माण शुरु गरिएको फलफूल प्रशोधन केन्द्रको भवन र फलफूल प्रशोधन गर्ने उपकरण खरिदको काम सुदेवी कन्ट्रक्सन प्रा.लि. हलेसीले जिम्मा लिएको थियो । भ्याटसहित रु ८४ लाख १२ हजार ५९७ को लागतमा सम्पन्न गर्ने सम्झौताअनुसार गरिएको भवन निर्माण र उपकरण खरिदको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर नगरपालिकालाई हस्तातरण गरिएको ठेकेदार कम्पनीका प्रोपाइटर सुवास राईले जानकारी दिनुभएको छ ।

प्रशोशन केन्द्रको भवनसम्म पुग्ने विद्युत विस्तार र फलफूल प्रशोधन गर्ने उपकरण जोड्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको भवनमा आवश्यक पर्ने थप कोठा विस्तार गर्नका लागि कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि रु २० लाख उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभएको छ ।

नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेसँगै व्यवसायिकरुपमा फलफूल खेती गर्दै आएका कृषकहरु उत्साहित भएका छन् । फलफूत प्रशोधन केन्द्र नहुँदा बिक्री भएर बाँकी रहेका फलफूल त्यतिकै खेर जाने गरेको थियो तर फलफूल प्रशोधन केन्द्र सञ्चालन आएपछि कृषकले भोग्नु परेको समस्या अन्त्य हुने अपेक्षा राखिएको अगुवा कृषक शुभचन्द्र राई र गंगा विश्वकर्माले बताउनुभएको छ ।फलफूल प्रशोधन केन्द्र सञ्चालनका लागि नगरपालिकाले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको उनिहरुको भनाइछ ।

नगर क्षेत्रभित्र वार्षिक करिब ३० हजार केजी किबी उत्पादन हुने नगरपालिकाले जनाएको छ । फलफूल प्रशोधन केन्द्र निर्माणका लागि शुभचन्द्र राईले साढे चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर