खोटाङ, २० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा शुरु भएको कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो दिन चारवटा खेल सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन ओखलढुङ्गा, ताप्लेजुङ, ईलाम र खोटाङ विजयी भएका छन् ।

पहिलो दिनको पहिलो खेलमा सोलुखुम्बुलाई शून्यका विरुद्ध एक गोलले हराउँदै ओखलढुङ्गाले विजयी यात्रा शुरु गरेको छ । खेलको पहिलो हाफको पाँचौँ मिनेटमा ओखलढुङ्गाकी सम्झना राईले गरनुभएको एकमात्र गोल नै निर्णायक भएको आयोजकले जनाएको छ ।

खेल अवधिभरका म्यान अफ दि म्याच ओखलढुङ्गाकी सम्झना राई घोषित हुनुभएको छ । म्यान अफ दि म्याच घोषित सम्झनाले नगद रु दुई हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ  । इलाम र उदयपुरबीच भएको पहिलो दिनको दोस्रो खेलमा ट्राईब्रेकरमार्फत ईलाम विजयी भएको छ । पहिलो हाफको ३२ औँ मिनेटमा ईलामकी मनिता तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएको खेलमा दोस्रो हाफको तीन मिनेटमै उदयपुरकी अनिशा राईले गोल फर्काएपछि बराबरी भएको थियो ।

 

निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्रईब्रेकरमा इलामले दुई गोल गर्दा उदयपुरका खेलाडीले कुनै पनि गोल गर्न नसकेको आयोजकले जनाएको छ । पाँच÷पाँच जना खेलाडीले प्रहार गरेको ट्राईब्रेकरमा उदयपुरका खेलाडीका सबै गोल ईलामकी गोलरक्षक समिक्षा राईले रोकेपछि ईलाम समूह चरणको खेलमा विजयी भएको आयोजकले जनाएको छ । ईलाम र उदयपुरबीचको खेलमा ईलामकी गोलरक्षक समिक्षा राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।

धनकुटा र ताप्लेजुङबीच भएको तेस्रो खेलमा ताप्लेजुङ विजयी भएको छ । पहिलो हाफमा दुवैतर्फ कुनै पनि गोल नभएको खेलको दोस्रो हाफको आठौँ मिनेटमा ताप्लेजुङकी सुजता लिम्बुले गरेको एकमात्र गोल नै निर्णायक बनेको हो ।

खेल अवधिभरको म्यान अफ दि म्याच ताप्लेजुङकी सुजता लिम्बु घोषित हुनुभएको छ । म्यान अफ दि म्याच घोषित सुजताले नगद रु दुई हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । पहिलो दिनको अन्तिम अर्थात चौथो खेलमा खोटाङ ट्राईब्रेकरमार्फत विजयी भएको छ । सुनसरी र खोटाङबीच भएको खेलको निर्धारित समयमा दुवैतर्फका एक÷एक गोलको बराबरी भएपछि ट्राईब्रेकरमा धकेलिएको थियो ।

पहिलो हाफमा खोटाङकी सजना राई गोल गर्दै टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सुनसरीकी योगिता निरौलाले एक गोल फर्कापछि बराबरी भएको थियो । पाँच÷पाँच जना खेलाडीले प्रहार गरेको ट्राईब्रेकरमा खोटाङ ४–३ गोल अन्तरले विजयी भएको हो ।खेल अवधिभरको म्यान अफ दि म्याच खोटाङकी सजना राई घोषित हुनुभएको छ । यही असार–२५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि (शुक्रबार) पनि चारवटा खेल हुने आयोजकले जनाएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग सञ्चालन भएको प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ ।

प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको जनाइएको छ । प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् ।सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी भएका छन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिक’ले गर्नुभएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर