खोटाङ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरे पश्चात् मङ्गलबार एक समारोहको बीच जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जन्मिएदेखि १५ महिनासम्मका दुई हजार ८८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका छ हजार ४२२ गरी सबै नौँ हजार ३०३ जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका ९१३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
पूर्ण खोप अभियानका क्रममा जिल्लाका दुई जना बालबालिकाले अहिलेसम्म कुनै पनि खोप नलगाएको तथा १५ जना बालबालिकाले नियमित खोपको मात्रा छुटाएको पाइएको थियो । उनीहरु सहित नौँ हजार ३०३ जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाइएको प्रमुख चौलागाई जानकारी दिनुभएमको छ ।
जिल्लाका सबै बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालय प्रमुख चौलागाईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्नेमा चौथो बनेको छ । आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने÷गराउने, खोप कार्यक्रममा कसैलाई पनि नछुटाउने तथा छुट्न नदिने र नेपाल सरकारको खोप सम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता सहित संयक्त हस्ताक्षरसमेत गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्था लगायतलाई सम्मानसमेत गरिएको छ । पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणासभाका वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
२०७४ पुस–१४ गते खोटाङ जिल्लालाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्ष उमेर समूहका हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारले सञ्चालन गरेको नियमित खोप कार्यक्रम अन्तरगत सबै बालबालिकाले सबै प्रकारका खोप पाएको निश्चित भएपछि सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।