असार २३,खोटाङ । हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले खोटाङ प्रहरीलाई सम्मान गरेका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरीमा बस्दैआउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्या अभियोगका दोषीलाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले एक कार्यक्रमको बीच प्रहरीलाई सम्मान गरेका हुन् ।
गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातीले हजुरमालाई साथमा लिएर सुनसरीबाट २६ वैशााखमा खोटाङतर्फ हिँडेका थिए । तर नातीसँगै हिँडेकी तुलसाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी बगरमा खाल्डोभित्र शंकास्पद र सडिसकेको अवस्थामा फेला परेको थियो ।

घटना पश्चात फरार रहेका नाती निरबहादुर खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा पक्रिएर जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक गरेको थियो ।
हजुरमाको हत्या गरेको भन्दै खड्का बिरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दर्ता भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक बिवादका कारण खड्काले हजुरमाको हत्या गरेको खुलेकाले उनलाई पक्राउ गरी कानुनि प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी उमेश लम्सालले बताउनुभयो ।

जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजि लक्ष्मी सापकोटाले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर दोसल्ला ओडाउदै सम्मान पत्रले सम्मान गर्नुभएको हो । नेपालमा घटेका कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाडै अपराधि पक्राउ गरेर मृतकको आत्मालाई शान्ती हुने काम गरेको भन्दै सम्मान गरेको सापकोटाले बताउनुभयो ।

सम्मानपत्र ग्रहण गदैँ डिएसपी लम्सालले भर्नुभयो नागरिक र प्रहरीको राम्रो समझदारी हुने हो,भने समाजमा घटेका हरेक घटनाका दोषी चाँडै पत्ता लाग्ने बताउनुभयो ।उक्त घटनामा पनि नागरिकको राम्रो साथ मिलेका कारण दोषीलाई चाडै कानुनको कठघरामा ल्याउन प्रहरी सफल भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर