बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय वसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार बिहान उद्धार गरिएको हो ।
बिएण्डसी अस्पतालका डाक्टरहरूसहित बालकको घर पुगेका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले उद्धार गरेर उपचार सुरु गर्ने घोषणा गरे । उनले तत्कालै उद्धार गरेर एम्बुलेन्स मार्फत बालकलाई अस्पताल ल्याएका छन् । उनको उपचार सुरु भइसकेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
गत हप्ता बालकको समाचार प्रकाशन भएको थियो । सोही समाचार प्रभावले बालकको उद्धार गरिएको बताइएको छ । स्थानीय अगुवा युवा कमल पोखरेलले बालक खोरमा बस्दै आएको सूचना दिएका थिए ।
जन्मजात मुर्छा पर्न थालेको छोराले सानैदेखि दुःख व्यहोरेको आमा पम्फाले सुनाइन् । घर र खेतबारीमा काम गर्नकै लागि छोरालाई खोरमा राखेको उनले सुनाइन् । बुवा गुप्त बहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् । बालक एक्लै बस्ने, कसैसँग नबोल्ने, रिस उठ्दा आफैँले आफैँलाई कुट्ने, अनुहार कोतार्ने, भित्तामा टाउको ठोकाउने, घरदेखि बाहिर निस्केपछि फर्किएर नआउने, साथीभाइसँग नबस्नेलगायत आनीबानी रहेको बुवा गुप्तबहादुरले बताए ।
वसन्तलाई घर नजिकै आमा बुवाले देख्ने गरी खोर बनाएर राखिएको थियो । उनलाई खानपिन आमाले गराउँदै आएका थिइन् । सामान्य आर्थिक अवस्थाका दाहाल परिवारले उनको उपचारका लागि मेची अस्पतालमा १५ दिन राखे । केही वर्षअघि उनीहरूले मेची अस्पतालपछि सिलिगुडीस्थित डाक्टर मन्त्रीसम्म पुगे ।
छोरामा केही सुधार नभए पछि अहिले घरमै राखिरहेका छौँ, बुबा गुप्त बहादुरले थपे । बिहान ६ बजेदेखि उनलाई खोरमा राखेर काम गर्ने गरिन्छ, उनकी आमाले भनिन् । रातीसँगै सुताए पनि दिनभर काम गर्न थुन्नै पर्ने बाध्यता छ । उनीहरू छोराको उपचार सम्भव नहुने भन्दै चुपचाप बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर