लक्ष्मी अधिकारी

असार ११ ,खोटाङ । वर्षायाम सुरु हुनासाथ खोटाङको दक्षिणी भेगका बासिन्दाको मनमा एउटै कुरा खेल्छ ? अब सदरमुकाम दिक्तेलबजार कसरी पुग्ने ? बिरामी परे अस्पताल कसरी लैजाने ? भन्ने चिन्ताले स्थानीय बासिन्दालाई दिनहुँ जसो सताउने गर्दछ ? हिउँदको समयमा धुलो र बर्खाको समयमा हिलो छिचोल्दै यात्रा गर्नु यहाँका नागरिकको नियति नै बनिसकेको थियो । तर,अब खोटाङको दक्षिणी भेगका नागरिकहरुको योे सास्ती र पर्खाइको अन्त्य हुने सङ्केत देखिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र (सदरमुकाम) समेत रहेको दिक्तेलबजारलाई दक्षिणी भेगसँग जोड्ने मुख्य ‘लाइफलाइन’ का रुपमा मानिएको खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमीबजार जोड्ने महत्वपूर्ण सडकको कालोपत्र कार्य सुरु भएसँगै स्थानीय नागरिकमा नयाँ उत्साह थपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट सुरु भई खानीडाँडा–याम्खा–पञ्चमीबजार‐थामखर्कसम्म पुग्ने यो सडक खण्डले जिल्लाको दक्षिणी भेगलाई प्रशासनिक तथा व्यापारिक केन्द्रसँग सिधा जोड्नेछ ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत विनियोजन गरिएको ३० करोड बजेटमध्ये १७ करोड ३० लाख ८२ हजार रुपैयाँमा युएसजी–रक्तकन्या–हिमश्रृङखला जे.भी.काठमाडौँसँग ठेक्का सम्झौता गरेर निर्माण प्रक्रिया अघि बढाइएको हो ।

कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गत चैत ५ गते पहिलो खण्डको आहालेदेखि याम्खासम्मको सडकको शिलान्यास गर्नुभएको थियो । निवर्तमान मन्त्री राईले नै गत जेठ ४ गते दोस्रो खण्डको याम्खादेखि थामखर्कसम्मको सडकको शिलान्यास गर्नुभएको थियो ।

गत चैत्र ५ गते आहाले–याम्खा–रातमाटा हुँदै पञ्चमी बजार जोड्ने सडक खण्डको शिलान्यास गर्नुहुँदै कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई। ( फाइल तस्वीर )

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालका अनुसार पहिलो सडक खण्ड अन्तर्गत आहालेदेखि याम्खासम्मको ८ दशमलव २ किलोमिटर सडक खण्डमा कामभइरहेको छ । उक्त खण्डमा हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक कटिङ, नाली निर्माण, रिटेनिङ वाल, जाली राख्ने काम, पाइप जडान तथा कल्भर्ट निर्माण लगायतका काम गरिने जनाइएको छ । सम्झौता अनुसार कालोपत्रे दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख दाहालले बताउनुभएको छ ।

त्यस्तै, दोस्रो सडक अन्तर्गत याम्खा‐थामखर्क सडक खण्डका लागि आर्थिक वर्ष २०८२ र ०८३ का लागि संघीय सरकारको सशर्त अनुदान अन्तरर्गत ५० प्रतिशत र कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत रु ३० करोड बजेट विनियोजन भएको थियो । जसमध्ये १७ करोड ४४ लाख रुपैयाँमा पबित्रा गाउँले जेभीसँग २०८२ चैत्र १८ गते ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको छ ।

उक्त सडक पहिलो चरणमा ८ दशमलव २ किलोमिटर कालोपत्रे हुनेछ । सडक खण्डको १० प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । सडक कटिङ, नाली निर्माण, रिटेनिङ पर्खाल, जाली राख्ने काम, पाइप जडान तथा कल्भर्ट निर्माण गरिनेछ । सम्झौता अनुसार ३ वर्ष भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो सडक खण्डको ग्याबिन जाली राख्ने काम सकेर साप्सुखोलासम्म सडक ग्रेड मिलाउने कार्य भइसकेको उक्त साइड इन्जिनियर अङ्कित भट्टराईले बताउनुभएको छ । दोस्रो खण्डमा अहिले कटिङको काम भइरहेको छ। उहाँले भन्नुभयो, ’’ साढे ५ किलोमिटर कटिङको काम सकिएको छ। दुवै प्याकेजमा नाली निर्माण, रिटेनिङ पर्खाल, पाइप जडान तथा कल्भर्टको काम बाँकी रहे पनि सम्झौता अनुसार समयमानै सम्पूर्ण काम सम्पन्नहुनेछ।”

वर्षायाम सुरु भएसँगै यस क्षेत्रका बासिन्दाले विगतका कठिन दिनहरू सम्झने गर्छन्। बर्खामा घुँडाभरी हिलो र हिउँदमा धुलोका कारण सवारी यात्रा जोखिमपूर्ण मात्र होइन, कष्टकरसमेत हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका –१ याम्खा स्वास्थ्य चौकीका सिनियर सहायक  स्वास्थ्य कार्यकर्ता (अ.हे.व ) सौजन राईले बताउनुभएको छ । बिरामी परेका नागरिकहरुलाई अस्पताल पु¥याउन निकै कठिनाइ हुने गरेको र कतिपय अवस्थामा उपचार नपाएर ज्यान गुमाउने अवस्था समेत आउने गरेको राईले बताउनुभएको छ ।

सडक निर्माण सम्पन्न भएपछि दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई लाभ  पु¥याउने छ । खानीडाँडा हुँदै दक्षिणी भेगसँग सिधा यातायात सम्पर्क स्थापित भएपछि व्यापार, कृषिउपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँचमा सुधार आउने अपेक्षा गरिएको दिप्रुङका स्थानीय तुलस राईले बताउनुभएको छ । निर्धारित समयभित्र निर्माण सम्पन्न भएमा यस सडकले खोटाङको दक्षिणी भेगको भूगोल मात्र परिवर्तन गर्ने छैन, यहाँका नागरिकको जीवन शैलीमा समेत ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ ।सडकमा वर्षौंदेखि धुलो र हिलोका कारण सास्ती खेप्दै आएका यहाँका नागरिकले सडक कालोपत्रे सम्पन्न पश्चात उनीहरुको जीवनस्तरमा समेत ठूलो परिवर्तन ल्याउने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>