माघ ३,खोटाङ । एमाले निकट मानव अधिकार एलाइन्स खोटाङको वार्षिक जिल्ला सभा सम्पन्न भएको छ ।

शनिबार बाल सेवा समाजको कार्यालय दिक्तेलमा आयोजित जिल्ला सभामा मानव अधिकार एलाइन्स खोटाङले गरेको कार्यप्रगतिको समिक्षा ,आगामी कार्ययोजना निर्माण र माघ १० देखि ११ सम्म विराटनगरमा सञ्चालन हुने मानव अधिकार एलाइन्स कोशी प्रदेशको दोस्रो अधिवेशन तथा मानवअधिकारकर्मी र समाजिक अभियान्ताहरूको प्रदेश सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि जिल्ला सभाको आयोजना गरिएको मानव अधिकार एलाइन्स खोटाङका अध्यक्ष युवराज रिजालले जानकारी दिनुभएको छ ।

२०४९ सालमा स्थापना भएको मानव अधिकार एलाइन्स खोटाङले जिल्लाका दश स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका,दिप्रुङ चुइचुम्मा गाउँपालिका,खोटेहाङ गाउँपालिका,जन्तेढुङ्गा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा पालिका कमिटी गठन गरिएको र जिल्ला सभाले आगामी बैशाखभित्र अन्य पाँच पालिकामा कमिटी गठन गरिने निर्णय गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभएको छ ।

प्रदेश सम्मेलनका लागि युवराज रिजाल,गोपाल परियार र प्रमिला थापालाई सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको मानव अधिकार एलाइन्सकी केन्द्रीय सदस्य बिमला राईले बताउनुभएको छ । मानव अधिकार एलाइन्स खोटाङले स्थापना कालदेखिनै महिला र मानवअधिकार सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्रीय सदस्य राईले जानकारी दिनुभएको छ ।

जिल्ला सभा कार्यक्रममा अधिवक्ता सजना आचार्यले घरेलु हिंसा सम्बन्धि कानुनी प्रावधानको विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक आचार्यले कार्यक्रममा सहभागीहरुलाई घरेलु हिंसाका बारेमा कसुर, सजाय, कानुनी प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।

जिल्ला अध्यक्ष युवराज रिजालको अध्यक्ष तथा मानव अधिकार एलाइन्सकी केन्द्रीय सदस्य बिमला राईको प्रमुख आतिथ्यता र नेकपा एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>