
खोटाङ, २ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका अन्दाजी १६–१७ वर्षीय एक किशोर पक्राउ परेका हुन् ।
स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत रेश्मिकालाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेका छन् । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट चार दिनको म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका किशोरले आफू नाबालक रहेको बताएका छन् । उमेर प्रमाणित गर्न जन्मदर्ताको प्रमाणपत्र मगाएका छौँ ।”
बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोरको जन्मदर्तासमेत नरहेको र उनले अहिलेसम्म कुनै पनि विद्यालयमा अध्ययन नगरेको खुलेको सहकारी संस्थाका अध्यक्ष सागर तामाङले जानकारी दिनुभएको छ । “स्थानीयले दिएको जानकारी अनुसार आरोपित किशोर १७–१८ वर्षका हुन् भन्ने छ । तर, उसको उमेर प्रमाणित गर्ने कुनै प्रमाण भेटिएको छैन”, उहाँले भन्नुभयो, “गाउँमा बुझ्दा उनी त्यसै बरालिएर हिँड्ने व्यक्ति भन्ने बुझिएको छ । जे भए पनि उनीमाथि लागेको आरोप प्रमाणित भएको खण्डमा कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्छ ।”
एक छोरीकी आमा रेश्मिका भदौ–३० गते बेलुकी अबेरसम्म कार्यालयबाट घर नफर्किएपछि खोजि गर्नेक्रममा सोही राति करिब नौँ बजे बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन् ।
सडकदेखि करिब १५० मिटर तल रेश्मिकाको शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको स्थानीयले बताएका छन् । शव रहेको ठाउँभन्दा केही तल रेश्मिकाले बोक्ने झोला र अन्डरवेर ९प्यान्टी० भेटिएको प्रहरीले जनाएको छ ।
अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको खुलेको छ । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखा पर्नुभएको जनाइएको छ ।
मृतक रेश्मिकाको शव तीन दिनपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा लगेर परीक्षण गरेपछि दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा शङ्कास्पद अवस्थामा मृत फेला पर्नुभएकी रेश्मिकाको श्रीमान र एक छोरी छन् ।
तपाईको प्रतिक्रिया