खोटाङ, ९ असार । केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिका प्रमुख समिर राईको अध्यक्षमा भएको गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मत् रुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२÷०८३ को लागि वित्तीय समानीकरणतर्फ रु आठ करोड एक लाख, राजश्व बाँडफाँडतर्फ रु आठ करोड ५४ लाख नौँ हजार ३७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ रु तीन करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिका उपप्रमुख राईले विशेष अनुदानतर्फ रु तीन करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तरगत वित्तीय समानीकरणतर्फ रु ६८ लाख ६४ हजार, राजश्व बाँडफाँडतर्फ रु ५९ लाख पाँच हजार, सशर्त अनुदानतर्फ रु एक करोड ४७ लाख ८१ हजार बजेट प्रस्तुत गर्नुभएको छ । समपुरक अनुदानतर्फ रु एक करोड ६० लाख, अन्तरिक राजश्वतर्फ रु ३५ लाख र गत वर्षको मौज्दात रु ९० लाख रकमलाई समेटेर वार्षिक बजेट बनाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा गाउँपालिका प्रमुख राईले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो गाउँपालिकाले भौतिक पूर्वाधार विकास तथा कृषि उत्पादनलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याएको हो ।
फेदीलाई दुई वडा बनाउने प्रस्ताव पारित
गाउँ सभाले गाउँपालिकाभित्रको सबैभन्दा ठूलो वडा फेदीलाई दुई वडा बनाउन वडाको पूनः संरचना गर्ने प्रस्ताव पारित गरेको छ । फराकिलो भूगोल, छरिएको वस्ती, असन्तुलित पूर्वाधार लगायतका विषयलाई सहज हुने गरी वडालाई पूनः संरचना गर्ने निर्णय भएकोे हो।
प्रस्तावित वडाको क्षेत्रफल २४.२१ वर्ग मिटर हुने, प्रस्तावित नयाँ बन्ने वडाको जनसंख्या एक हजार तीन सय जना हुने र केन्द्र सुम्देमा राखिने प्रस्ताव गाउँ सभामा पारित भएको छ । प्रस्तावित वडाको सीमाना उत्तरमा साविक फेदीको वडा कार्यालय छमुवा खोला र पत्करु, दक्षिणमा तीन थुम्की साप्सु लहरेमाने र पूर्वमा मैयुङ हाँसपोखरी मात्तिमडाँडा र पश्चिममा लुदुमु खोल्सा रहने प्रस्ताव गाउँ सभामा पारित भएको छ ।

