खोटाङ । खोटाङको लफ्याङमा सुरु भएको खुल्ला अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोल्माले विजयी सुरुवात गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित रणजितमान राई खेलमैदानमा शनिबार देखि सुरु भएको मझुवागढी कालिका भगवति दोश्रो संस्करणको उद्घाटन खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलालाई २–० गोल अन्तरले पराजित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले विजयी सुरुवात गरेको हो ।
वडा कार्यालय लफ्याङको आयोजना तथा नमुना स्पोर्टस क्लब लफ्याङको सह–आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिम सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले रु १ लाख ५१ हजार १११, उपविजेताले रु १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण –पत्र प्राप्त गर्ने सह–आयोजक नमुना स्पोर्टस क्लबका अध्यक्ष सविन राई ‐बिज्ञान) बताउनुभएको छ । सेमि फाइनलिष्ट दुई टीमले जनही रु ३५ हजार ५५५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
दोस्रो संस्करणको अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी टोलीले खोटाङ जिल्लाभित्रका चार जना, जिल्ला बाहिरका तीन जना तथा सम्बन्धित वडाभन्दा बाहिरका सात जना खेलाडी समावेश गराएका छन् । ‘जित्नलाई होइन, सिक्नलाई खेलकुद’ नारा दिइएको दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता शुभेच्छुकबाट चन्दा सङ्कलन गरेर आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभरका बेस्ट प्लेयर, बेस्ट डिफेन्डर, बेस्ट मिडफेल्डर, बेस्ट किपर, बेस्ट कोच, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई जनही नगद रु पाँच हजारको साथमा ट्रफी, मेडलर प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेको अध्यक्षतामा भएको सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको हो । कार्यक्रममा पूर्व जिल्ला समन्वय खोटाङका प्रमुख ववि चाम्लिङ्ग,जिल्ला समन्वय समिति सदस्य कला राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राई, सोल्माका वडाध्यक्ष एवं जिल्ला फुटबल संघका अध्यक्ष धुर्व विक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई र जिल्ला फुटबल संघका महासचिव काजीमान राई लगायतको उपस्थिति रहेको थियो ।