खोटाङ । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सह–आयोजनामा शुक्रबार देखि पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प)मा ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा गाउँपालिका भित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीलाई खाना तथा खाजाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।  प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रु पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले रु एक लाख उपलब्ध गराएको प्रतियोगिताका सह–आयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख रुपेश राई लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर