नेकपा (माओवादी केन्द्र) दमकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निगरानी गर्ने भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको गुनासोपछि माओवादी केन्द्र दमकको शुक्रबार(आज) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

दमक माओवादीले शिक्षकको जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्दै शिक्षकलाई पनि सुधार गर्नुपर्ने जनाएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग राखेको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न त्यहाँ कार्यरत शिक्षक नै आफ्नो पढाईमा विश्वस्त छन् कि छैनन् पहिला जाँच गर्नुपर्छ । उनीहरुका सन्तानलाई सामुदायिक विद्यालयमा पढाएका छन् कि छैनन् अनुगमन जरुरी छ,’ उनले भने, ‘दमकका सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाएका छन् भने माओवादी दमकले पुरस्कृत गर्छ । सामुदायिक विद्यालयका शिक्षकले सरकारी विद्यालयको विश्वास नगरी निजीमा पढाएका रहेछन् भने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।’ निर्णय कार्यान्वयनका लागि वडामा रहेका शिक्षण संस्थाको विवरण नगर पार्टीमा दिन माओवादीले कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

यस्तै, शुक्रबारको नगर कमिटी बैठकबाट जसपाका पूर्वकेन्द्रीय सदस्य देउकुमार लिम्बूसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसहित विद्यापति तिम्सिना, राप्रपाका टिका दंगाल, एमालेका डेविट शाही, गुमानसिंह तामाङलाई पार्टी व्रवेश गराउँदै नगर कमिटीमा मनोनित गरिएको छ । उनीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्रबहादुर आङ्बो मौसमले पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर