तीर्थराज भट्टराई

बैशाख २१,खोटाङ ।  इतिहासले विगतको सम्झना मात्र गराउँदैन यसले वर्तमानलाई समेत दिशा निर्दिष्ट गर्छ । भविष्यको मार्गचित्र कोर्ने एउटा मानक बन्दछ इतिहास । इतिहास, संस्कृति र प्रकृतिलाई फूलको माला झैं एउटै धागोमा गाँस्न सकियो भने मात्र समाज साँचो अर्थमा वैभवशाली बन्छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४, बुइपामा निर्माण भएको यलम्बर पार्क र प्रतिमा त्यही सोचको जीवन्त अभिव्यक्ति हो। यसले अतितको गौरव, वर्तमानको चेतना र भविष्यको सम्भावनालाई एकै सूत्रमा बाँध्ने प्रयास गरेको छ ।

बुइपाको पार्क र यलम्बरको शालिक निर्माणलाई भौतिक संरचनाको रूपमा मात्रै अर्थ्याउनु हुँदैन । यसलाई हाम्रो साझा पहिचान, सहअस्तित्व र आत्मसम्मानको प्रतिकको रूपमा विकास गर्नुपर्छ । त्यसैले सबै तहका नेतृत्व र समाजका अगुवाले समन्वय, सहकार्य र सहअस्तित्वको सम्मान गर्न लचक हुनैपर्छ । साझा सहमति र सहकार्यले मात्रै लक्ष्य हासिल गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ ।

शालिक निर्माणमा उठेका प्रश्न

बुइपामा फाइबरबाट निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिकबारे अहिले सामाजिक सञ्जाल , चिया चौतारी, पसल, सार्वजनिकस्थल सबैतिर सकारात्मक / नकारात्मक बहस चलिरहेको छ। केहि विज्ञले विशाल मूर्तिको सट्टा सांस्कृतिक संग्रहालय निर्माण गरिएको भए दीगो संरक्षण सम्भव हुन्थ्यो भन्ने धारणा समाजिक सञ्जाल राखेका छन्।

पछिल्ला वर्षहरूमा राज्यका विभिन्न तहहरूले भ्यूटावर, पेनटावर लगायतका अनावश्यक संरचना निर्माण गर्नतर्फ देखिएको आकर्षणले विकासको प्राथमिकता माथि प्रश्न उठाएको छ। किराँती समुदाय प्रकृति पुजक भएकाले मूर्तिपूजामा जोड दिनु मुन्दुमी संस्कृतिसँग बाझिने तर्क पनि उठेका छन्। यसबाट परम्परा र आधुनिकताबीच सन्तुलन कसरी कायम गराउने भन्ने बहसलाई अझ गम्भीर बनाएको छ।

किराँत संस्कृति वन, नदी, पहाड र आकाशसँग गाँसिएको जीवनदर्शन हो। प्रकृतिलाई देवत्वका रूपमा मान्ने यो संस्कृति र परम्पराले सन्तुलन, सहअस्तित्व र संरक्षणलाई ज्यादा महत्व दिन्छ । यी र यस्ता मतको पनि हामीले गम्भीरता पूर्व लेखाजोखा गर्दै अघि बढ्नुपर्छ ।

सबै तहका सरकारले सांस्कृतिक पहिचान जोगाउँदै परिणाममुखी विकासका योजना अघि बढाउनु प्रमुख जिम्मेवारी हो। नगरपालिकाले आएका सुझाव र आलोचनालाई गम्भीर रूपमा लिँदै आत्मसमिक्षा गर्नेछ। भविष्यमा सार्वजनिक लगानी गर्दा सरोकारवाला सबै पक्षसँग संवाद र सहमतिको आधारमा अघि बढ्नुपर्ने आवश्यकता प्रष्ट भएको छ।

इतिहासको कसीमा उभिएको पहिचान

यलम्बर पार्क इतिहासको सम्मान, सांस्कृतिक पहिचान र सामूहिक चेतनाको संगम हो। यलम्वरको स्मृतिमा ठडिएको शालिकले अतितलाई वर्तमानसँग जोड्दै भविष्यतर्फ डोऱ्याउने प्रतीकात्मक पुलको काम गर्नेछ।मेरो बुझाईमा यो परियोजना नगरपालिका, कोशी प्रदेश सरकार, राजनीतिक दल, प्रशासन , संस्कृतिविद् र स्थानीय समुदायको सहकार्यबाट साकार भएको साझा सपना हो । जहाँ धेरै व्यक्तिको मेहनत र धेरै मनको भावना मिसिएको छ।

किराँत सभ्यता र प्रकृति पुजक दर्शन

यलम्बरलाई ऐतिहासिकको पात्र मात्र होइनन् । उनी किराँत सभ्यताको जीवन्त प्रतिक हुन्। प्रकृति पुजक जीवनदर्शनले जंगल, नदी, आकाश र पृथ्वीलाई देवत्वका रूपमा स्वीकार्दै सन्तुलन, सहिष्णुता र सहअस्तित्वको मार्ग देखाउँछ।यलम्वर पार्क त्यसै दर्शनको आधुनिक अभिव्यक्ति हो। यहाँको शालिकले मानव र प्रकृतिबीचको प्राचीन सम्बन्धलाई प्रतिकात्मक सन्देश दिने थलोको रूपमा विकास गर्ने कोशिस गरिएको हो ।

सहअस्तित्वको संगम केन्द्र

यो पार्क कुनै एउटा समुदायको मात्रै बनाउने कोशिस गर्नु हुँदैन । सम्पूर्ण समाजको साझा गौरवको रूपमा विकास गर्नुपर्छ । किराँत, जनजाति, ब्राह्मण, क्षेत्री, नेवार, दलित लगायत सबै समुदायको सहअस्तित्वले हाम्रो समाज पूर्ण बनेको विषय हामी कसैले भुल्नुहुँदैन । यलम्वर किराँत समुदायबाट बनेका नेपालको पहिलो राजा हुन् तर किराँतीका मात्रै राजा हुन् भन्ने भाष्य निर्माण गर्ने कोशिस भयो भने हाम्रो उद्देश्य पुरा हुँदैन । त्यसैले सामाजिक सञ्जालमा विद्वेष फैलिने भाषा कसैले प्रयोग नगरौं र नगराऔं ।

विविधतामा एकता हाम्रो पहिचान हो। बुइपावासीको माटोप्रतिको माया, जनप्रतिनिधिको सक्रियता र स्रष्टाहरूको समर्पणले यसलाई जीवन्त बनाएको छ। मतभेद स्वाभाविक हुन्छन् । मानव प्रकृतिको एउटा पाटो हो द्वन्द्व पनि । तर द्वेष होइन-संवाद र सहिष्णुता नै हाम्रो मूख्य बाटो हुनुपर्छ। यस्ता समस्यालाई संवादबाट हल गरेर लक्ष्य हासिल गर्न सबै पक्ष अग्रसर होऔं ।

संस्कृति र पर्यापर्यटनको केन्द्र

यलम्बर पार्क पर्यापर्यटनको सम्भावनाले भरिएको महत्वपूर्ण स्थल हो। यसलाई संस्कृति, प्रकृति र पर्यापर्यटनको अध्ययन केन्द्रका रूपमा विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो। नयाँ पुस्ताले त्यहाँ आफ्नो इतिहास बुझ्नेछन् । प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्नेछन् र सहअस्तित्वको मूल्य आत्मसात् गर्ने स्थल बन्नेछ । साझा पहलबाट भविष्यमा संग्रहालय, अध्ययन केन्द्र र संस्कृति संरक्षण गर्ने ज्ञानको केन्द्र बनाउन पहल गर्नुपर्छ ।

यसका लागि सरकार, समुदाय, युवा र विश्वभर रहेका नेपालीहरूको सहकार्य अपरिहार्य छ। अनावरणका क्रममा लिइएको निर्णयले कसैको मन दुखेको हुन सक्छ। नगर प्रमुखको हैसियतले म त्यसप्रति आत्मालोचित छु। नेतृत्व भनेको निर्णय मात्र होइन संवेदनशीलता र जिम्मेवारी पनि हो। यो विषयमा म सचेत रहेको साझा गर्न चाहन्छु । म सधैंभरी संवाद, सहकार्य र समझदारीको बाटो रोज्न प्रतिबद्ध छु।

यलम्बर पार्क हाम्रो साझा सपना हो । इतिहास, संस्कृति र प्रकृतिको संगम स्थल हो । यसले विगत सम्झाउँछ, वर्तमानसँग जोड्छ र भविष्यतर्फ प्रेरित गर्छ। द्वेषभन्दा सहिष्णुता, विभाजनभन्दा एकता र अस्वीकारभन्दा सम्मान रोज्नु आजको आवश्यकता हो। यही बाटो समातेर मात्रै हामी सुदृढ, समृद्ध र उज्यालो भविष्यतर्फ अघि बढ्नेछौं। बुईपाको पर्यापर्यटनको विकास र समृद्धिमा समेत यलम्वरको ११० फिटको प्रतिमा महत्वपूर्ण ठहरिनेछ । सबैको साझा समझदारी नै भविष्यको उज्यालो किरण हुनेछ ।

( स्तम्भकार –  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>