संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका आरोपी १५ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।

बुधबार संखुवासभा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले बताए।

उनका अनुसार कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। कैदी हत्या प्रकरणमा मुद्दा चलाइएको थियो। उनीहरूलाई कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकिएको छ। बुधबार सरकार र प्रतिवादीतर्फका आठजना कानुन व्यवसायीले बहस गरेका थिए।

कारागारमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, सुरक्षागार्ड कार्यरत सुमन गुरुङ, दमनसिंह राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनीष राई, पवनकुमार महतो र नुसन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ।

त्यस्तै, कैदीहरू रामबहादुर कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारूमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको श्रेस्तेदार केसीले बताए।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्तोष भण्डारीका अनुसार मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, २०७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको छ। १५ जना अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गरिएको छ।

गत २४ साउनमा संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो। उनीहरू शौचालयको झ्याल फोडेर भाग्न खोजेको भन्दै प्रहरी र कैदीले निर्ममतापूर्वक कुटपिट गर्दा मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर