कोशी प्रदेशमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनले सभामुखलाई समेत जोडेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ ।प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज बिहीबार अपरान्ह ५ बजे सकिँदैछ । कांग्रेस–माओवादी गठबन्धनमा आवद्ध दलहरुबीच कोशी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पनि भइसकेको छ । त्यसअनुसार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा उनलाई समर्थन गर्ने दलका नेताहरुले पनि हस्ताक्षर गर्नेछन् ।गठबन्धनका नेताहरुले अहिले पनि ६ सांसद भएको राप्रपाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर सहमति जुटेको छैन । राप्रपा संसदीय दलका नेता भक्ति सिटौला गठबन्धनमा आवद्ध दलहरुसँग कुराकानी भइरहे पनि सरकार निर्माणका लागि साथ दिने कि नदिने निर्णय नभएको बताउँछन् । कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राई पनि राप्रपासँग छलफल भएपनि समर्थन पाउने टुंगो भइसकेको छैन । ‘राप्रपासँग सम्वादमा नै छौं, उहाँहरुले डिक्लियर गर्नुभएको छैन’, उनले भने, ‘राप्रपा आएन भने चार दल मिलेर दाबी पेश गर्छौं ।’ ९३ सदस्यीय प्रदेशसभा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेसका २९, माओवादीका १२ ९सभामुख बाहेक, एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेशसभा सदस्य छन् । अर्थात सभामुखलाई नजोड्ने हो भने चार दलसँग प्रदेशसभाको बहुमत पुग्दैन । माओवादी प्रदेशसभा सदस्य दुर्गा चापागाईँ भने सभामुखलाई पनि जोडेर सरकार गठनका लागि दाबी गर्ने र मुख्यमन्त्री नियुक्ति भएपछि राप्रपासँग सहकार्यका लागि थप ३० दिनको समय रहने बताउँछन् ।