असार ८,खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिका– ३ लामिडाँडाको तिर्पामा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारको १५ लाख रुपैयाँको लगानीमा निमार्ण गरिएको ३ कोठे भवनको बिहिबार एक कार्यक्रमको बीच कोशी प्रदेश सांसद पाँचकर्ण राई ‐पिके) र रावाबेंशी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
स्थानीय थिरप्रसाद पौडेलले आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निमार्ण गर्नको लागि १ रोपनी निःशुल्क जग्गा प्रदान गर्नुभएको थियो । स्वास्थ्य केन्द्रबाट एक एक जना अनमी र अहेवद्वारा स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
पालिकाको ६ वटै वडामा स्वास्थ्य चौकी सञ्चालन भएपनि ग्रामिण क्षेत्रभएकाले अधिकाश वडाका नागरिकहरुले घटौं हिडेर स्वास्थ्य चौकीबाट सेवा लिनुपर्ने बाध्यता रहेछ,त्यो समस्यालाई मध्यनजर गर्दै तिर्पामा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो “बिकट ठाँउ भएकाले अन्य वडामा पनि पालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने प्रकिया अगाडि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।”
तिर्पाका नागरिकहरु घन्टौ घण्टा हिडेर स्वास्थ्य सेवा लिनको लागि लामिडाँडा स्वास्थ्य चौकी जानुपर्ने बाध्यता रहेको थियो तर अब गाउँमै आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि त्यो समस्याको अन्त्य भएको स्थानीयहरु बताउँछन्
कार्यक्रममा रावाबेसी गाउँपालिकाकी उपाध्यक्ष कौशीला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई, वडा नं ३ का वडाध्यक्ष बिरेन्द्र मगर,वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर पाण्डे, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देल र रावाबेसी स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।