तस्वीर ः खोटाङबजार–पामाखाम भञ्ज्याङ सडक अनुगमन गर्नुहुँदै पालिका अध्यक्ष उदिमबहादुर राई र पालिका उपाध्यक्ष रुपेश राई
जेठ १३, खोटाङ । खोटाङबजार–पामाखाम भञ्ज्याङ सडक स्तरोन्नतीका क्रममा गुणस्तरहिन बालुवा प्रयोग भएको पाइएको छ । ६ किलोमिटर सडक स्तरोन्नतीको ठेक्का लिएको बिकेएसके कन्स्ट्रक्सन प्रालि, काठमाण्डौंले स्थानीय बाईपा खोलामा होमपाइप राख्नेक्रममा भित्तामा मेसिनरी वाल बनाउँदा गुणस्तरहिन बालुवा प्रयोग गरेको पाइएको हो ।
गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, इन्जिनियर सन्जयकुमार चौधरी लगायतको टोलीले गरेको अनुगमनका क्रममा खहरे खोलाको कमसल बालुवा उठाएर प्रयोग गरेको पाइएपछि मेसिनरी वाल भत्काउन लगाइएको हो ।
खोलामा होमपाइप राख्नेक्रममा सपोर्टका लागि भित्तामा लगाइएको मेसिनरी वालमा ठेकेदारले गुणस्तरहिन बालुवा प्रयोग गरेको भन्दै स्थानीयको गुनासो आएपछि गाउँपालिकाको टोली अनुगमनमा पुगेको थियो । गुणस्तरिय बालुवा प्रयोग गरेर मेसिनरी वाल बनाउन निर्देशन दिए,लगत्तै ठेकेदारले सो मेसिनरी वाल भत्काएर पुःननिर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
संघीय सरकारबाट समपूरक अनुदान अन्तरगत प्राप्त भएको एक करोड ७० लाख र खोटेहाङ गाउँपालिकाको १ करोड ७० लाख गरी तीन करोड २४ लाख ९ भ्याट सहितको खर्चमा खोटाङबजार देखि पामाखाम भञ्ज्याङ सडक स्तरोन्नती सुरु गरिएको हो ।
बिकेएसके कन्स्ट्रक्सनले २०८० बैसाख १५ गतेसम्ममा सक्नेगरी २०७९ पुस १५ गते खोटाङबजार–पामाखाम भञ्ज्याङ सडक स्तरोन्नतीको ठेक्का सम्झौता गरेको थियो ।सम्झौता म्याद नाघ्दा सडक स्तरोन्नतीको भौतिक प्रगती करिब ९५ प्रतिशत भएको गाउँपालिकाका इन्जिनियर चौधरीले बताउनुभयो ।
सडक स्तरोन्नतीका क्रममा ३८१ मिटर पिपिसी ढलान, ९४ घनमिटर आससिसि ढलान, पक्की नाली, खोला खोल्सीमा होमपाइप, आवश्यक ठाउँमा तारजाली र सडक ग्राभेल गर्ने सम्झौता उल्लेख रहेको गाउँपालिकाले जनाएको छ ।