बैशाख २२, खोटाङ । रवि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भानुचोक, बरगाछीमा बुक्रबार एक कार्यक्रमको बीच रास्वपाले सम्पर्क कार्यालयको स्थापना गरेको हो ।

हालको लागि मुकुण्दकृष्ण थापा, पारस बिराट र सोनामहाङ राईलाई सम्पर्क व्यक्ति तोकेर सम्पर्क कार्यालय स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य मञ्जु बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो “ पार्टी सदस्य संख्या वृद्धिसँगै केन्द्रका नेताहरुको उपस्थितिमा निकट भविष्यमा जिल्ला कार्य समिति गठन गर्ने छौं । त्यस पश्चात् जिल्ला कार्य समितिले गाउँ तथा नगरपालिका र वडा तहमा संगठन विस्तार गरिदै लैजाने बिष्टले जानकारी दिनुभयो । ”

कांग्रेस, एमाले, माओवादी केन्द्र, एस र अन्य दलका कतिपय नेताहरु रास्वपामा प्रवेश गर्नेगरी नियमित सम्पर्क र छलफल भइरहेको रास्वपाले जनाएको छ । ‘जान्नेलाई छान्ने’ अर्थात राजनैतिक बिरासतभन्दा पनि पार्टीमा क्षमता र विज्ञताको आधारमा नेताले पद पाउने रास्वपाले जनाएको छ ।

पुराना दलहरु नेपाली जनताको परिवर्तनकारी आकांक्षा पुरा गर्न पूर्णरुपमा असफल भएको सन्दर्भमा रास्वपाको उपस्थितिलाई सान्दर्भिक, जनभावना अनुकुल बनाउन मुलुकको हरेक कुना–कुनामा आफ्नो संगठन विस्तारलाई मुर्त रुप दिने सिलसिलामा जिल्लामा संगठन विस्तार सुरु गरिएको विज्ञाप्तीमा उल्लेख छ ।

सम्पर्क कार्यालयमा रहने मुकुण्दकृष्ण थापा, पारस बिराट र सोनामहाङ राईले पार्टीको बारेमा जान्न चाहने व्यक्तिलाई आवश्यक जानकारी दिने र सदस्य बन्न इच्छुक व्यक्तिलाई सदस्यता वितरण गर्न सहजीकरण गर्ने रास्वपाले जनाएको छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा रास्वपाका नेता डा. राजकुमार राई, बागमती प्रदेश सदस्य गणेश बस्नेत लगायतको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय