वैशाख २१, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा स्थित रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बिहिबार एक कार्यक्रमको बीच नगरपालिकाका नगरप्रमुख विमला राई र उपप्रमुख रमेश कुमार राउतले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटनसँगै स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गर्न सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “खोप केन्द्रको भवनलाई स्तरोन्नति गरेर आधारभुत स्वास्थ्य उपचार सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।”
सामान्य स्वास्थ्य उपचार सेवा लिनको लागि यहाँका नागरिकहरु करीव तीन घण्टा भन्दा बढी हिडेर दाम्ली स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता रहेको थियो । तर गाउँमै आधारभुत स्वास्थ्य सेवा पाउने भएपछि स्थानीय हर्षित भएका छन् ।
स्वास्थ्य केन्द्रमा एक जना अहेव खटाइएको र आवश्यकताका आधारता थप जनशक्ति खटाइने नगरपालिकाले जनाएको छ । डिकुवाको साविक १,२ र ३ नम्बरका स्थानीयले उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा लिने छन् ।
यस्तै, डिकुवाको भूगोल ठुलो भएकाले नागरिकलाई सास्ती भएको भन्दै साविक ७,८ र ९ का नागरिकलाई स्वास्थ्य उपचारमा सहज हुने गरी छुङपाङमा शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्यास गरिएको नगरपालिकाले जनाएको छ ।
डिकुवाको रातमाटेसँगै राजापानीको भाडबेँसी र आहाले, अर्खौलेको नवलपुर, दुर्छिमको हैदे र बाहुनिडाँडाको झापामा गरी हालसम्म हलेसी तुवाचुङ नगरपालिकाले ६ वटा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिसकेको नगरपालिकाले जनाएको छ ।
बिहिबार भएको भवन उद्घाटन र शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, डिकुवाका वडाध्यक्ष देवेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।