खोटाङ, २१ वैशाख । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । नेलाल सरकार, सङ्घीय शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माण गरिएको पाँचकोठा भएको दुईतले पक्की भवन बुधबार एक कार्यक्रमको बीच प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य चौकी भवन तेस्रो व्यक्तिको रुपमा पैँयूधारा निर्माण सेवा प्रा.लि.का प्रबन्ध÷निर्देशक धौलराज राईले १ करोड २९ लाख लागतमा निर्माण सम्पन्न गर्नुभएको जनाइएको छ । निर्माण व्यवसायी राईले निर्माणको काम सम्पन्न गरेर गत फागुन–१५ गते वडा कार्यालयलाई स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेको थियो । वडा कार्यालयले जिम्मा लिएको तीन महिनापछि औपचारिक रुपमा स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको वडा कार्यालय जनाएको छ ।
स्वास्थ्य चौकी भवन स्थापना गर्न निःशुल्क ५ रोपनी जग्गादान गर्ने जग्गादाता हस्तबहादुर राईलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको वडासचिव टंकबहादुर राईले बताउनुभयो ।
वडाअध्यक्ष तुलाराम राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य रामकुमार राई (पासाङ),केपिलाशगढी गाउँपालिकाका अध्यक्ष समिर राई ,उपाध्यक्ष गुरुराज राई , निमित्त प्रमुख प्रसाशकीय अधिकृत गुञ्न्जन कार्की ,१ नं वडाका वडाअध्यक्ष निर कुमार राई र माओवादी केन्द्रकी नेत्री रश्मी रसाईलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।