मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकताप्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न गर्नुपर्ने आयोजना अन्तर्गत कतै निर्माण भर्खर सुरु भएको छ त कतै–कतै ठेक्कामा जानसमेत बाँकी रहेको जनाइएको छ ।

आयोजनाले हालसम्म चार सय ५४ किमी ठेक्का व्यवस्थापन भएकामा दुई सय ६३ किमी सम्पन्न भएको छ । अझै दुई सय ८६ किमी ठेक्कामा जान बाँकी रहेकामा एक सय ८० किमी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको आयोजनाले जनाएको छ । सो खण्डमा स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको आयोजनाका सूचना अधिकारी शिवशरण तिमल्सिनाले बताए । चालु आवमा सरकारले २४ किमीको लक्ष्य रहेको छ । उनले भने, “अहिलेसम्मको बजेट विनियोजन, अर्थ मन्त्रालयबाट दिइने स्रोत सुनिश्चितता, बहुवर्षीय ठेक्का सहमतिका आधारमा त्यो अवधिमा नसकिने देखिएको छ ।”

आयोजनाका लागि सुरु विनियोजित बजेट नै कम हुने गरेको आयोजनाले जनाएको छ । वार्षिकरूपमा पाँच अर्बमाथि खर्च हुने भए पनि चालु आवमा सुरु विनियोजन रु दुई अर्ब ८२ करोड थियो । उनले भने, “कम्तीमा गत आव जतिको खर्च हुन्छ । आवको अन्त्यमा जाँदा बर्सेनि थप बजेट माग्नुपर्ने अवस्था रहेको छ ।”

बर्सेनि विनियोजित बजेट न्यून हुँदा आवको अन्त्यमा थप बजेट माग्नुपर्ने अवस्था रहँदै आएको छ । निर्माण व्यवसायीले बिल पेस गरेर रकम माग गर्ने तर समयमा पैसा नपाएपछि काम सुस्त गर्ने हुने उनले बताए । यसले गर्दा मजदुरले ज्याला नपाउने र निर्माण सामग्रीको पैसा दिन नसकेपछि पैसा नआउँदासम्म काम रोक्नुपर्ने हुनसक्ने उनको भनाइ छ ।

आयोजनाअन्तर्गत ठेक्कामा जान बाँकी सडक र पुल दुवैका आधारमा तोकिएको अवधिमा आयोजना सम्पन्न नहुने देखिएको सूचना अधिकारी तिमल्सिनाले जानकारी दिए । बहुवर्षीय ठेक्का सहमति चाहिने र अर्थ मन्त्रालयबाट सहमति आएपछि ठेक्का व्यवस्थापन गर्न केही समय लाग्ने उनले बताए ।

अहिले चलिरहेको ठेक्काको प्रगति राम्रो रहेको आयोजनाको दाबी छ । समयमा बजेट र स्रोत सुनिश्चितता नहुँदा कति वर्षमा सकिन्छ भन्न नसकिने भए पनि बजेट पर्याप्त हुँदा अबको तीनदेखि चार वर्षमा सम्पन्न गर्न सकिने सूचना अधिकारी तिमल्सिनाले जानकारी दिए । उनले भने, “प्रगति बढाउनका लागि सुरु विनियोजन राम्रो हुनुपर्छ र स्रोत सुनिश्चितता हुनुपर्छ ।”

ठेक्कामा जान बाँकी पुल छोटा र लामा दुवै किसिमका पुल रहेको उनले बताए । कर्णाली नदीलगायत ठूला नदीमा पुल बनाउनुपर्ने रहेकामा त्यो लामो हुने देखिएको छ । अरुतिर डेढदेखि दुई सय मिटरसम्मका पुल निर्माण गर्नुपर्ने उनले बताए ।

अहिले निर्माण भइरहेको धरान–झापा खण्डमा जम्मा सात मिटर मुख्य सडक र दुवैतर्फ दुई–दुई मिटर नाली र पैदलयात्रुमार्ग गरी ११ मिटर रहेको छ । तराईमा ११ मिटर भए पनि पहाडमा छेउ संरचनाको भाग घटाएर डेढ मिटर त कतै ७५ सेन्टिमिटरमात्रै गरेर घटाइएको सूचना अधिकारी तिमल्सिनाले बताए । उनले भने, “भूगोलअनुसार चौडाइ कायम गरिएको छ ।”

सडकको चौडाइको समस्या बजार क्षेत्रमा बढी रहेको छ । साविकको बाटो चौडा गर्दा घर र टहरा पर्ने ठाउँमा समस्या रहेको उनले बताए । निर्माणाधीन अरू सडकमा जस्तै यो राजमार्गमा पनि सडकको अधिकार क्षेत्रका कारण समस्या आइरहेको छ । धरान, सुनसरी, मोरङ र झापामा अहिले निर्माणको काम भइरहेको छ । जुन–जुन ठाउँमा निर्माण भयो त्यहाँ–त्यहाँ समस्या आइरहेको उनले बताए।

अन्य निकायले यसअघि नै निर्माण भइरहेका सडकलाई कतिपय ठाउँमा अरू राजमार्गसँग जोड्ने वा गाभिने गरी सडक निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा सञ्चालनमा रहेका सडक जोडेर बनाइएकाले पनि भइरहेको सडकको स्तरोन्नतिको काम बढी रहेको उनले बताए । उनले भने, “हेटौँडाबाट गैँडाकोटसम्म महेन्द्र राजमार्ग, सिन्धुलीमा गए पनि बिपी राजजमार्ग, पश्चिममा रत्न राजमार्गमा गएर राजमार्ग मिसिएको छ ।”

पहिलो चरणमा भइरहेका राजमार्गमा जोड्ने काम नै भइरहेको उनले बताए । राजमार्गको स्तरमा नभएका स्थानमा पनि दुई लेनमा सडक स्तरोन्नति गरिने उनले बताए । अहिले रिडी–तम्घासको २५ किमी खण्डमा दुई लेनमा स्तरोन्नति भइरहेको छ । अहिले एक वा मध्यवर्ती (इन्टरमेडिएट) सडकलाई दुई लेनमा लैजाने गरी छलफल भइरहेको उनले बताए । उनले भने, “अबका दिनमा अरुको स्वामित्वको सडक पनि दुई लेनमा स्तरोन्नति गर्ने लक्ष्य रहेको छ ।”

केही समय पहिले गृह मन्त्रालयले खानी उत्खननमा गरेको कडाइका कारण निर्माण सामग्री पाउन गाह्रो हुन थालेको थियो । अहिले खुलाइएकाले केही सजिलो भएको सूचना अधिकारी तिमल्सिनाले बताए । चुरे फेदीमा राजमार्ग बन्ने र त्यस क्षेत्रमा उत्खनन सजिलो नभएकाले समय–समयमा समस्या आइरहेको उनले बताए ।

राजमार्ग निर्माणका क्रममा रुख कटानको समेत समस्या आइरहेको छ । धरान–झापामा वन कटानका लागि परिमार्जित अध्ययन गरेर सहमति लिन फाइल उठाइएको उनले बताए । पहिले अध्ययन गरेको भए पनि काट्नुपर्ने रुख सङ्ख्या थपघट भएर पुनः गर्नुपर्ने भएकाले पुनः गरिएको हो ।

आयोजनाअन्तर्गतका योजना कार्यालयले अहिले धरान–झापा, गुल्मी, सुर्खेतलगायतका जिल्लामा काम गरिरहेका छन् । पूर्वी खण्डमा धरान–झापा खण्डमा केही बाँकी छ भने पश्चिम खण्डमा बढी काम बाँकी रहेको छ ।

पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको सो राजमार्गको लम्बाइ एक हजार तीन सय ९० किमी छ । सो मध्ये पनि आयोजनाले सात सय ४० किमी सडक र एक सय ८५ पुलको निर्माण गरिरहेको छ ।

विसं २०७५ जेठ ६ को मन्त्रिपरिषद् बैठकबाट मदन भण्डारी राजमार्ग नामकरण गरेर निर्माण सुरु गरिएको थियो । त्यतिबेला लक्ष्य निर्धारण नभए पनि सरकारले नीति तथा कार्यक्रममा आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय