विराटनगर : लागुऔषध गाँजा भारततिर तस्करी गर्ने गिरोहलाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको छ । नेपालमा अवैध हिसाबले उत्पादन हुँदै आएको गाँजा सामूहिक रूपमा भारततिर लैजाँदै गर्दा प्रहरीले फेला पारी गिरोहलाई नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान ठूलो परिणामको गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ जना भारतीय र १ जना नेपाली नागरिक छन् । गिरोहलाई नियन्त्रणमा लिएको प्रहरीले २ सय ३४ किलोग्राम गाँजासमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको टोलीले बिहानका राति १:३० बजेतिर सामूहिक हिसाबले गाँजा ओसारपसार भइरहेको फेला पारेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले गहुँ बारी हुँदै भारततिर कटाउँदै गर्दा ठूलो परिणामको गाँजासहित गिरोहलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा भारत अररियाका ३० वर्षीय सिन्टुककुमार सिंह, २९ वर्षीय दीपक झा, २४ वर्षीय प्रवीण पासवान र विष्णुकान्त मिश्र रहेका छन् । गाँजा ओसारपसारमा संलग्न रंगेली–३ का वीरबहादुर कार्कीलाई पनि पक्राउ गरिएको दाहालले बताए ।

प्रहरीलाई देख्नासाथ गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ । ‘१७ जनाजति व्यक्तिहरु मिलेर गाँजा भारत लैजाँदै गरेको सूचना आएको थियो,’ डीएसपी दाहालले भने, ‘५ जनालाई पक्राउ गरिए पनि अन्य फरार भएका छन् ।’ उनका अनुसार प्लाष्टिकले प्याक गरेर बोरामा राखी गहुँ बारीबाट भारत लैजाँदै गर्दा १५ पोका गाँजा बरामद भएको हो । उनका अनुसार १२ वटा पोकामा १२–१२ किलो र एउटा पोकामा ६ किलो गाँजा फेला परेको छ । २ वटा पोकाबाट भने ८४ किलो बरामद भएको प्रहरीले जनाएको छ ।

‘गाँजाका बोरा मान्छेले बोकेरै खेतको बाटो प्रयोग गरी सीमा कटाउँदा रहेछन्,’दाहाल भन्छन्, ‘प्रहरीले फेला पारेर नियन्त्रणमा लिने क्रममा केही व्यक्तिहरु भाग्न सफल भए ।’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले फरार रहेका गाँजा तस्करको खोजी तीव्र पार्न र नेपाल–भारत सीमा क्षेत्रलाई प्रयोग गरेर हुने अवैध धन्दा नियन्त्रणमा लिन मातहतका प्रहरी युनिटलाई निर्देशन दिएका छन् ।

गाँजासहित पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मद्दा चलाउन प्रहरीले मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार धनकुटा, भोजपुरलगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अवैध गाँजा विभिन्न बाटोको प्रयोग गरेर भारततिर तस्करी हुने गरेको छ । नेपालमा भन्दा दोब्बर बढी मूल्य पाइने भएकाले गाँजा भारत कटाउने गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर