चैत्र १३,खोटाङ । जिल्ला अस्पताल खोटाङका तत्कालिन कार्यालय प्रमुख विमल कुमार देवले म्यादी प्रहरीको स्वास्थ्य परिक्षण गर्दा संकलन भएको रकम हिनामिना गरेको तथ्य बाहिरिएको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भर्ना हुने क्रममा ७ सय ६० जना म्यादी प्रहरीको स्वास्थ्य परिक्षण गर्दा संकलन भएको ७६ हजार रकम हिनामिना भएको हो ।

परीक्षण गरे वापत प्रतिव्यक्ति म्यादी प्रहरीले १०० को दरले रकम अस्पतालाई शुल्क तिरेका थिए ।नियम अनुसार स्वास्थ्य परीक्षण वापत संकलन भएको रकम अस्पताल सञ्चालन व्यवस्थापन समितिको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, निमित्त प्रमुख देवले त्यो पैसा अस्पताल सञ्चालन व्यवस्थापन समितिको खातामा जम्मा नगरी असोज पहिलो हप्ता जम्मा भएको ७६ हजारमध्ये २१ हजार ४५० रुपैयाँ खाना, खाजा, चिया नास्तामा खर्च, ३१ हजार ५०० र १५ हजार ५०० स्वास्थ्यकर्मीलाई भत्तावापत रकम दिइएको बिमल कुमार देवले बताउनुभयो ।

डाक्टर पुस्कल राई, सत्रुघन यादव, सवल कोइराला, रुपेश संग्रौला र आफू स्वयंमले पाँच हजारका दरले र स्वास्थ्यकर्मी सिता शाह, नितु यादवलाई जनही दुई हजार पाँच सय र हेल्थ असिस्टेन्ट निकमार मोक्तानलाई एक हजार पाँच सयका दरले जम्मा ३१ हजार पाँच सय भत्ता दिएको देवले जानकारी गराए । समितिको खातामै राख्न भनि सबै भत्ता फिर्ता दिईएको डाक्टर पुस्कल राईले बताउँनुहुन्छ ।

स्टोरकिपर सुनिल दाहाल, अहेव रोशन पोखरेल, अहेव सन्तोष दाहाल, अहेव राजु खड्का र विवरण संकलक भोजराज श्रेष्ठलाई जनही दुई हजार पाँच सय तथा एम्बुलेन्स चालक सन्देश ढुङगाना र सुरक्षाकर्मी गोपालराज थापा मगरलाई जनही एक हजार पाँच सय गरी जम्मा १५ हजार पाँच सय दिएकोमा उनीहरुले कम भएको भन्दै सबै भत्ता फिर्ता गरेका थिए।

भत्ता कुन मितिमा बाँडेको, कुन मितिमा फिर्ता गरेको भनेर देवलाई रेकर्ड माग्दा आफूसँग कुनै पनि रेकर्ड नभएको देवले गैरजिम्मेवारपूर्ण जवाफ दिए । फिर्ता भएको भत्तासहित अहिले म्यादी प्रहरीको स्वास्थ्य परीक्षण वापतको ४९ हजार ५५० रुपैयाँ पैसा उनै देवले गोजीमा थन्काएर राखेका छन्। उनी स्वयंमले खाएको पाँच हजार फिर्ता गरेका छैनन्।

स्वास्थ्य परीक्षणमा खटिएकाहरुलाई भत्ता निर्णय गरेर दिनुपर्ने हुन्थ्यो। तर, देवले निर्णय नगरी भत्ता दिएको बताउँछन्। भत्ता खान मिल्थ्यो भन्ने प्रश्नमा विहानदेखि वेलुकासम्म खटेकाले भत्ता दिएको देव बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर