![](https://efocusnews.com/wp-content/uploads/2023/03/nandalal-tajpuria-original.jpg)
गौरादह नगरपालिका वडा नं. १ का क्यान्सर संक्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिनु भएको छ ।
मूत्रथैलीको क्यान्सरबाट संक्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उहाँले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवार समेत विचल्लीमा परेको छ ।
आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बनिरहेको उहाँकी पत्नी कुलोमाया ताजपुरियाले बताउनुभयो । जाँच गर्ने आर्थिक अभावकै कारण उहाँको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन ।
“बुढालाई रोग लाग्यो, पैसा नभएर दवाइ गर्न सकेको छैनौं,” उहाँले उपचारमा आर्थिक सहयोगको अपिल गर्दै भन्नुभयो–“ऋणमाथि ऋण छ । भात खानै मुस्किल परिसक्यो, दवाईका लागि कहाँबाट पैसा जुटाउनु ?”
घरमै थलिएका ताजपुरियाको अवस्था थप जटिल हुँदै गएको हुँदा उपचारमा सहयोग पुर्याउन उहाँकी पत्नी कुलोमायाले दाताहरुसँग अपिल गर्नुभएको छ ।
वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा जाँच गर्दा ताजपुरियाको फोक्सोको क्यान्सर पत्ता लागेको थियो । खर्चकै अभावका कारण उहाँलाई क्यान्सर उपचारका लागि भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पताल लैजान नसकिएको हो ।
“उहाँको उपचार सुरु गर्न कम्तीमा चार पाँच लाख रुपैयाँ चाहिन्छ, हामी चन्दा सहयोग जुटाउने प्रयास गरिरहेका छौं,” वडाध्यक्ष भण्डारीले भन्नुभयो–“जायजेथा केही नभएकाले उहाँको परिवारले खर्च जुटाउन सक्ने कुनै सम्भावना छैन ।”
ताजपुरिया परिवार निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको छ । आफ्ना सदस्यको स्वास्थ्योपचार गर्ने हैसियत नभएको देखेर निर्धन लघुवित्तले रु. १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
निर्धन लघुवित्तको गौरादह शाखा प्रमुख विवश घिमिरेले ताजपुरियाको घरमै पुगेर सहयोग हस्तान्तरण गर्दै आफ्ना समूह सदस्यभित्र कुनै समस्या परेको खण्डमा सानो रकम सहयोग पुर्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
ताजपुरिया परिवारको उपचारका लागि खर्च गर्ने कुनै स्रोत नभएको जनाउँदै वडाध्यक्ष भण्डारीले दाता र संघसंस्थाहरुबाट चन्दा उठाउनु पर्ने अवस्था आएको बताउनुभयो । त्यसका लागि आफुले पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । नगरपालिकाले ताजपुरियाको उपचारका लागि भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पताल लैजान एम्बुलेन्स दिने निर्णय गरेको छ ।