चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि भोली शनिबार उम्मेद्वारी दर्ता हुदैछ । पूर्वकै धेरै विद्यार्थी भएको दमक बहुमुखी क्याम्पसमा बिभिन्न राजनीति दल सम्बद्ध विद्यार्थी संगठनले अहिलेसम्म उम्मेद्वार टुग्याउन सकेका छैनन् । कतिपय दलहरु तालमेल गर्ने भनेर पर्खेर बसेका छन् ।
दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र राप्रपा निकट राप्रविसंघ विच तालमेल गर्ने सहमति भएको छ । कांग्रेस नगर उपसभापति सागर खनालका अनुसार स्ववियू निर्वाचनमा दुइ संगठन विच तालमेल गरेर जाने सहमति भएको बताए । यद्यपी त्यसलाई लिपीबद्ध गर्न भने बाकीँ रहेको उनले जनाएका छन् । सहमति अनुसार नेविसंघले सभापति लिने छ भने राप्रविसंघले सचिवमा चित्त बुझाउने छ । नेविसंघबाट स्ववियू अध्यक्षका लागि बिशाल सिटौला, पर्शु प्रसाई, सचिन श्रेष्ठ, भूवन बस्नेत, दिपक मादेन लगायतको चर्चा छ ।
यस्तै नेकपा एमाले निकट अनेरास्ववियू भने विचार मिल्ने संगठन सँग तालमेल गर्ने तयारीमा छ । एमाले दमक नगर उपसचिव तथा विद्यार्थी ईञ्चार्ज सन्तोष दुलालले माओवादी निकट विद्यार्थी संगठनसँग बार्ता भइरहेको जानकारी दिए । उनका अनुसार सहमतिको खाका भने तयार भइसकेको छैन् । अनेरास्ववियूबाट निशेष राई, तपस दुलाल, अविस खनाल, भिजन चेम्जोङ लगायतका उम्मेद्वारको अध्यक्षमा चर्चा छ ।
नेकपा माओवादी केन्द्रले एमालेसँग छलफल भइरहे पनि सहमति भइनसकेको जनाएको छ । माओवादीका नगर अध्यक्ष रवि बस्नेतका अनुसार विचार मिल्ने संगठन सँग तालमेल गरेर जाने तयारी छ । तर माओवादी निकट अखिल क्रान्तीकारीले स्ववियू अध्यक्षको उम्मेद्वार पाउनुपर्ने अडान राखेको बताए । क्रान्तीकारीले लक्ष्मी नेपाललाई अध्यक्षको उम्मेद्वार बनाउने तयारी गरेको छ । क्रान्तीकारी भने अनेरास्ववियू सहमतिमा नआए साना राजनीतिक दल निकट विद्यार्थी संगठन सँग तालमेल गर्ने पक्षमा छ । दमक बहुमुखी क्याम्पसमा ३ हजार३ सय ४९ विद्यार्थीले मतदान गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर