विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबि)ले छानविन सुरु गर्ने भएको छ ।
सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानविनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान सुरु गरिने भएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक पोखरेलले दिएको जानकारी अनुसार तत्काल अनुसन्धान सुरु गर्न लागिएको छ । सिआइबीले हाल प्रहरी नियन्त्रणमा रहेकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउने छ । यस्तै सिआइबिले अध्यक्ष केदारनाथ शर्मा तथा अन्य संचालक तथा व्यवस्थापकहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले संचालक समितिका साथै व्यवस्थापकहरुको सम्पत्ती रोक्का राख्ने, बैंक खाता रोक्का गर्ने र अनुसन्धान सिआइबीले गर्ने विषयमा सहकारी विभागले पत्राचार गरेको जानकारी दिनुभएको छ । उक्त सहकारीमा सर्वसाधरणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ । विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौंको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अहिले संकटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकममात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर