आईसीसी विश्वकप लिग टुअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल ५२ रनले विजयी भएको छ ।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७ ओभर १ बलमा २४५ रनमा अलआउट भयो ।

किप्लिन डोरेगा र टोनी उराले पहिलो विकेटका लागि ११ ओभर २ बलमा ७७ रनको साझेदारी गरे । २६ रन बनाएका डोरेगा रनआउट भए । सेसे बाउले तीन रन मात्र जोडे ।

४४ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेलेका टोनी उरालाई सन्दीप लामिछानेले क्याच आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । चार्ल्स अमिनी १४ रनमा दीपेन्द्रको बलमा बोल्ड भए ।

८ रन बनाएका हिरी हिरी ३३औं ओभरको दोस्रो बलमा सन्दीपको बलमा बोल्ड भए भनेलगत्तै चाँद सोपर गोल्डेन डक भए । ४२ रन बनाएका कप्तान असद भालालाई कुशल मल्लले क्याच गराए ।

सन्दीपको बलमा स्टम्पिङ भएका हेकुरले २० रन जोडे । ५५ बलमा ६० रन बनाएका नोरमन भनुवा रनआउट भएसँगै नेपालले जित हासिल गरेको हो ।

सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेको नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो । ४९.१ ओभरमा २९७ रन बनाउँदै नेपाल अल आउट भयो । नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

नेपालका ओपनर आसिफ सेखले शतक प्रहार गरे । नेपालका लागि सर्वाधिक रन बनाएका सेखले ११० बलमा ११० रन बनाए । उनले १२ चौका र दुई छक्का प्रहार गरे ।

अर्का ओपनर कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाएर मैदानबाट बाहिरिए । उनले ६ चौका प्रहार गरे भने कप्तान रोहित पौडेलले ३९ बलमा ३० रन जोडे ।

भीम सार्कीले ३८ बलमा ४४ रन प्रहार गरे । उनले चार चौका प्रहार गरे भने आरिफ सेखले १५ रन बनाएर मैदानबाट बाहिरिए ।

पीएनजीका लागि सेमो केमिएले सर्वाधिक ५ विकेट दिए भने रिलेय हेकुरेले ३ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर