आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २१२ रन बनायो ।

नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए । उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रनको योगदान गरे ।

नेपालको कसिलो बलिङकासामू अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए । यस्तै, क्रिस ग्रेभ्सले ७, मार्क वाटले ८ रन बनाए भने सफिआन शरिफ ८ रन बनाउँदै अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् ।

यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजबंशी र कुशल मल्लले १–१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्ने छ ।

स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो। नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ । यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनैपनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।

हिजो ९सोमबार० भएको खेलमा स्कटल्यान्डसँग नामिबिया पराजित भएपछि त्यसको फाइदा पनि नेपाललाई पुगेको छ । लिग टु च्याम्पियन स्कटल्यान्ड अन्तिम खेल जित्दै ट्रफी उचाल्न चाहन्छ । स्कटल्यान्डलाई लिग टुको ट्रफी आजै प्रदान गरिनेछ ।

नेपाल २७ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । लिग टुका बाँकी ९ मध्ये ६ मा जित हात पारे नेपालको ओडिआईले निरन्तरता पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय